भानुभक्तमा “कानुनी शिक्षा आजको आवश्यकता” विषयक सचेतना कार्यक्रम

भानुभक्त आवासीय माध्यामिक विद्यालय ‌+२ स्कूल अफ ल पोखरा १ सिम्पानीको आयोजनामा “कानुनी शिक्षा आजको आवश्यकता” विषयक सचेतना कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रम पूर्व महान्याधिवक्ता प्रा. डा. युवराज संग्रौलाको प्रमुख आतिथ्यमा पोखरा सभागृहमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएको डा. संग्रौलाले कानुनी शिक्षाको महत्व को बारेमा स्पष्ट पार्नुभएको थियो। ‌+२ तहमा कानुनको अध्यापन नुहुँदा न्याय सेवाका राजपत्र अनङ्कित श्रेणीमा कानुन बाहेक अन्य क्षेत्रका जनशक्ति भर्ना गर्नु परेको, र उहाँहरुको कानुनी पृष्ठभूमि नुहुँदा न्याय सम्पादनमा समेत प्रभाव परेको र यसलाई सम्बोधन गर्न लोकसेवा आयोगले न्याय सेवाका कर्मचारीको पदपूर्ति कानुनमा प्रमाणपत्र तह (‌+२ तह) उतिर्ण गरेका जनशक्ति बाटै गर्ने योजना बनाएको हुँदा कानुनमा प्रमाणपत्र तह उतिर्णहरुको रोजगारीका सम्भावना समेत बढेको जानकारी दिनुभयो।

दण्डहिनताको अन्त्य र कानुनी राज्यको स्थापना गर्न जिम्मेवार नागरिकको आवश्यकता पर्ने र जिम्मेवार बन्न हरेक नागरिकले कानुन जान्नु अपरिहार्य रहेको बताउनुभयो। कानुनका दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले पहल कदम नचालेको समयमा गण्डकी प्रदेशमै निजी क्षेत्रको पहिलो र कास्की जिल्लामा समग्रमै पहिलो पटक विद्यालयबाट यस्तो प्रयास हुनु प्रशंसनीय रहेको भन्दै विद्यालयलाई आवश्यक पर्ने सबै खाले सहयोग गर्न आफू र आफ्नो संस्था काठमान्डु स्कूल अफ ल तयार रहेको बताउनु भयो।
कार्यक्रमका अन्य वक्तामा प्यावसन कास्कीका अध्यक्ष प्रेम प्रसाद सुवेदी, पोखरा मल्टिमोडल क्याम्पस का क्याम्पस प्रमुख कृष्ण के.सी. , काठमान्डु स्कूल अफ ल का विद्यार्थी सुदीप राज घिमिरे, सुनीता गुरुङ हुनुहुन्थ्यो।वक्ताहरुले विद्यालयको प्रयासको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका संस्थापक प्रिन्सिपल दिनेश कुमार लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले सभापतीत्व गर्नुभएको कार्यक्रमको सञ्चालन ‌+२ कानुन संकायका संयोजक प्रदिप अधिकारीले गर्नुभएको थियो।

कमेन्टहरु
Loading...