Ganthan News Pokhara
All news from Pokhara & around

‘भाडाका गर्लफ्रेन्ड’ राजनीतिभन्दा युवतीका चुट्किला

0

विकास रोकामगर
मेरो एकजना साथी छ । सानैदेखि सँगै हुर्केबढेको । अहिले गाउँघरतिरै छ । म सहर आएँ । बेलाबेलामा फोन वा फेसबुकमार्फत्सम्झिन्छ ।उसको र मेरो कुरा हुँदा ५ प्रतिशत आफ्ना हालचालको बारेमा कुरा हुन्छ भने बाँकी महिलाकै । कुन महिला कसरी हाँस्यो ? कसरी बोल्यो ? फेसबुकमा कसरी कमेन्ट ग¥यो ? कोसँगको फोटो हाल्यो या कतिजनासँगसुतेकोसम्म कुरा हुन्छ ।उसलाई लाग्छ– उसको आफ्नै प्रेमिकाबाहेक सबै वेश्या हुन् । चरित्रहीन हुन् । उसले जोजोसँग रात बितायो अर्को दिन मलाई सुनाउँछ र भन्छ, ‘त्यो केटी त क्या चालु रहिछे यार ।’

मेरो अर्को एकजना नजिकको मित्रले फेसबुकमा लेख्यो—भाडाका गर्लफ्रेन्ड ।अर्थात्‘आवश्यकता अनुरुप काम चलाउ नारी, जसलाई हामी निश्चित समयका लागि खरिद गरेर प्रयोग गर्न सक्छौं ।’उसले कुन प्रयोजनले त्यस्तो शब्द प्रयोग ग¥यो थाहा छैन । मानौं महिला भनेका चोकमा बेच्न राखिएका सामान हुन्, जसलाई भाडामा लैजान पनि छुट छ । प्रिय मित्रको कुराले नमिठो बिझ्यो– मैले आमा सम्झिएँ, काठमाडौंको भीडमा एक्लै संघर्ष गरिरहेको दिदीलाई सम्झिएँ,फेसबुकमा भाइरल भइरहेको १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या र त्यसमा कुनै पुरुषले महिलाले लगाउने वस्त्रकै कारण करणी भएको भन्ने घीनलाग्दो ट्विट सम्झिएँ ।

– हामी बाहिर आदर्शका कुरा गर्छौं तर भित्र खोक्रो छौं । बाटोमा हिँड्ने कुनै केटीलाई सिट्टी फुकेर या जिब्रो पड्काएर जिस्काउन पायौं भने इतिहास रचेको भान हुन्छ ।

साथीले भाडाको गर्लफ्रेन्ड शब्द प्रयोग गर्नुभन्दाअघि मैले एउटा राजनीति सम्बन्धीचुटकिला पोस्टेको थिएँ फेसबुकमै । उसको कमेन्ट थियो, ‘के राजनीतिका कुरा गरेको ?राजनीतिमा सस्तो जोक्स मजा आउँदैन । बरु युवतीका कुरा गर्नुस् न ।’ उसको आशय थियो– राजनीतिभन्दा धेरै नै सस्तो र हाँसलाग्दो हुन्छ महिला सम्बन्धी चुटकिला । यो दुनियाँमा उडाउन सजिलो भनेकै महिला हुन् । ऊ नेपालको एक प्रतिष्ठित मिडिया कम्पनीसँग आबद्ध छ । महिला अधिकार र कर्तव्य वकालतकैलेखहरु छापिरहन्छ । केही दिनअघि ट्विटरमा ऋचा भट्टराईले ट्विट गरेकी थिइन्, ‘यो देशमा महिला भनेका मान्छे कम, मुद्दा बढी ।

उचाल्यो, पछा¥यो, घोच्यो, खिल्ली उडायो, मतलब पूरा गर्न सकेजति प्रयोग ग¥यो । आफ्नो स्वार्थ अनुकूल हुन्छ भने ‘देवी’को उपमा दियो, आमा, दिदी–बहिनीको नातालाई सकेसम्म खोक्रो पा¥यो । नारीवादी बनेजस्तो गरिदियो, अरुबेला जे भनेपनि भई गो ।’ यही कुरा मेरा प्रिय मित्रको ‘भाडाका गर्लफ्रेन्ड’ चरितार्थ हुन्छ ।

अर्को पनि प्रसंग छ, लेखक वा पत्रकारका ।पहिलोपटक काठमाडौं म २०७३ सालमा मात्रै गएको हुँ । त्यतिबेला अलिअलि कविता लेख्थें । राजधानीका धेरथोर ‘कवि प्लस पत्रकार’सँग चिनजान थियो । सोचेको थिएँ– लेखनी सिकाउँलान् । व्यवहार सिकाउँलान् । कविताको अर्थ सिकाउँलान् । नभए कुनै विषयलाई लिएर जायज तर्क गर्लान् । तर म गलत रहेछु ।

त्यतिबेला कुरा भएको थियो नेपालका क्रियाशील महिला लेखकको चरित्रबारे । ‘को कति जनासँग सुतेर कुनमा कविता छपायो, कसले कसलाई के गरे वापत पुरस्कार हात पारिन्, कुन प्रकाशकसँग रात बिताएर कृति छपायो आदि–इत्यादि ।उनीहरु स्वयंती महिला लेखकभन्दा पनि बढी जानकार रहेछन्– महिला लेखककोधारबारे । हामी महिला लेखकको बौद्धिकता र क्षमताको कुरा गरेनौं । बरु ग¥यौं– उसको पुठ्ठाको आकार, स्तनको उचाई ।

ओंठको रसिलोपना ।या यस्तैयस्तै अरु नै केही, जसले महिलाको शरीरको बखान गथ्र्यो । अहिले आएर बुझ्दैछु, ‘नेपालमा महिला लेखकको स्थान किन पुरुषभन्दा तल रहेछ ?’ कारण उही रहेछ । हामी पुरुष चियागफमा गर्ने गफ नै ती महिला लेखक पर्दा रहेछन् । ‘एकपटक जुठो हाल्न पाए त…. आँखा नलगा है तेरो भाउजु हो…. मैले फ्याँकेको माल हो, उहिल्यै जुठो हालिसकें…’ यावतयावत कुराहरु त्यतिबेला भएको थियो ।

– स्वयं फेमिनिस्ट नै जानकार छैनन्, अघि भर्खर ‘नमस्कार’ गरेर गएको एउटा पुरुष फर्केर नितम्ब हेर्न भ्याइसक्यो ।

पत्रिकामा महिला अधिकार सम्बन्धी वकालत लेख सम्पादन गरेर घर पर्किरहेका तमाम पत्रकार नै बाहिर चिया पसलमा आएर महिलाकै कुरा गरिरहेको पनि यही आँखाले देखेको छु । भेटमा २ अर्थी कुरा गर्नु र उत्तेजक शब्द प्रयोग गर्नु यी त आम भइसके । समाजले पचाउन पनि लागिसक्यो । यहाँसम्म कि क्रियाशील ‘फेमिनिस्ट’ कै विषयमा पनि मजाक चल्छ । चिया र मदिरा गफमा । स्वयंफेमिनिस्ट नै जानकार छैनन्, अघि भर्खर ‘नमस्कार’ गरेर गएको एउटा पुरुष फर्केर नितम्ब हेर्न भ्याइसक्यो ।

विश्वमै अहिले महिला पक्षमा वकालत गर्नेहरुको जमात बढिरहेको छ । नेपालजस्तो विकासोन्मुख देशमा त झन्‘फेमिनिस्ट’को उदाउँदो क्रम दिनानुदिन बढिरहको छ । र यो जरुरी पनि भइसकेको छ । उसो त महिला कै विषयमा पुरुषहरुले पनि वकालत नगरेका भने होइनन् ।चर्चित अमेरिकन धार्मिक नेता ब्रिगम योङ महिला शिक्षा अधिकारका बारे भन्छन्, ‘तिमी (पुरुष) शिक्षित भयौ भने एउटामात्रै शिक्षित हुन्छ तर तिमीले एउटा स्त्रीलाई शिक्षा दियौ भने तिम्रो पुस्ता नै शिक्षित हुन्छ ।’उनको भनाइबाट पनि सजिलै अनुमान लगाउन सक्छौं कि महिलाको स्थान कहाँनेर हुन्छ ?

सामाजिक सञ्जालमा महिला अधिकारकर्मी तथा महिला लेखकहरुले प्राय मुलधारका पत्रिकामा महिला अधिकार र कर्तव्यबारे लेख छापिरहन्छन् । हामी धेरै पुरुष जमातले ती लेख पढ्छौं । मलाई के लाग्छ भने महिलाबारे महिलाले नै लेखेको लेख लक्षितमहिलाले नै कम पढ्छन् । किनभने प्राय लेखहरुमा आइरहने ‘इस्यु’ सहरका महिलाबारे भन्दा ग्रामीण महिलासँग सम्बन्धित हुन्छ ।महिलाले पुरुषलाई विश्वास गरेर आफ्ना कुनै कुरा सुनाएभने हामीलाई कि ऊ मूर्ख हो भन्ने लाग्छ कि वेश्या ।अमेरिकीकलाकार एलिजाबेथ डेभिस यही विषयमा यसरी बोल्छिन्, ‘कुनै पुरुषले आफ्नो विचार राख्यो भने ऊ पुरुष नै कहलिन्छ । तर, एउटी नारीले आफ्नो विचार राखिन् भने वेश्या ।’

पुरुष आफूलाई शारीरिक वा मानसिक रुपमा अरुभन्दा सर्वश्रेष्ठ ठान्छ र महिलाबारे कुरा काट्छ । जस्तो ‘भाडाका गर्लफ्रेन्ड, राजनीतिभन्दा युवतीका चुट्किला ।’पुरुष आफ्नो गल्ती देख्दैन र महिलाको चरित्रको विषयमा केस्राकेस्रा केलाउन खोज्छ । चर्चित लेखक भर्जिनिया उल्फ भन्छिन्, ‘तिमी आफ्नोबारे सत्य कुरा बताउँदैनौं या सक्दैनौं भने त्यही कुरा अर्कोको बारेमा बोल्न पनि जरुरी छैन ।’उनको कुराले समेत पुरुषसत्ताको विरोध गरेको छ ।हामी रातभर कुनै एउटी नारीसँग सुतेर बिहान त्यही नारीको चोकमा बसेर कुरा काट्न पनि छुट छैन । त्यस रातको घटनामा स्त्री जति जिम्मेवार छिन्, त्यति जिम्मेवार पुरुषले समेत लिनुपर्छ ।

बाहिर आदर्शका कुरा गर्छौं तर भित्र खोक्रो छौं । बाटोमा हिँड्ने कुनै केटीलाई सिट्टी फुकेर या जिब्रो पड्काएर जिस्काउन पायौं भने इतिहास रचेको भान हुन्छ । उसले लगाएको वस्त्रबाट उसको चरित्रको लेखाजोखा राख्छौं । आत्मीय ठानेर नजिकिइ भने पल्कियो या सल्कियो सोच्छौं । यो नेपाली पुरुषप्रधान समाजले खडा गरेको एउटा नजीर हो । मान्दानमान्दै पनि स्वीकार गर्नुपर्ने । जहाँसम्म महिला स्वतन्त्रताको कुरा छ । त्यसमा ब्राह्मण र क्षेत्री समाजभन्दा जनजातिमा बढी स्वतन्त्रता हुन्छ ।

त्यसमा पनि लिम्बु जातमा महिलाको अधिकार र कर्तव्य पुरुषभन्दा माथि हुन्छ । मैले यो हालै पोखरामा भएको एउटा सेमिनारबाट थाहा पाएको हुँ । एकजना वक्ता एकजना तामाङ महिला थिइन् । ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिलाबीच उनी लैंगिक विभेदको प्रवचन दिएकी थिइन् । त्यसैले त हाम्रो घरमा पनि आमा नै ठूलो हो बुवाभन्दा । आमाको ठूलो श्रेय छ घरव्यवहार सम्हाल्नुमा । ग्रामीण भेगमा हुर्केका रोल्पाली मगर समुदायलाई पुरुषसत्तात्मक व्यवस्थाले छोइसकेको थिएन । तर अचेल फेरि ती समुदायमा पुरुष नै हाबी हुँदैछन् । यो अनुपात घट्नुको साटो किन बढिरहेको छ ? सरोकारवाल नै जानून् ।

अचेल यस्तो लाग्छ– यो समाजले खडा गरेको पितृसत्तात्मक शोषणले महिलालाई यौनिकताको विषयमा मात्रै हाइन मानसिक रुपमै सखाप पार्न खोज्दैछ । पुरुष रोए पहलमान र महिला रोए ‘जातले पा’को’ भन्ठान्ने यो समाजको बाटो कुन दिशातिर ? पुरुषलाई उत्पादन गर्ने महिला नै हो तर महिलाको कुरा आयो भने जहिल्यै हामी यौनजन्य कुरा सोच्छौं । के यही हो त हाम्रो शिक्षाको अनुहार ?के यही हो हाम्रो ज्ञानको भण्डार ? आफूलाई सत्य देखाउन महिलालाई असत्यको बिल्ला भिराउने के यही हामी पुरुषको जीत ?

यो कुरा केही दिनअघि मेडिकल शिक्षालय चालक दुर्गा प्रसाईं र राजीनामा दिएका कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिबाट नै थाहा हुन्छ । त्यस विषयमा ट्विटरमा समा थापाले ट्विट गरेकी थिइन्, ‘निच उदाहरण दिन महिलाको प्रयोग, सफलतामा शंका, मिजास र सुन्दरतालाई सधैं तराजुमा तौलिन र क्षमतामा सधैं प्रश्न । मेरो समाजले म र मजस्ताका लागि हरदम देखाउने व्यवहार हो यो । मन्त्रीको मुखबाट फुत्त निस्किएको मात्रै हो ।’

पहिले अशिक्षा र अज्ञानताले महिला र पुरुषबीच दूरी बढाउँथ्यो भने अहिले मिडियाले बढाइरहेको छ । मिडियामा उठिरहने प्रसंग नै हामी ‘कथित’ बुद्धिजीवीका ज्ञानका स्रोत हुन् । त्योभन्दा पर नपुगेको छौं न त पुग्नलाई फुर्सद नै छ । कुनै कुराको विरोध तथा समर्थन गर्नुप¥यो भने पनि मिडियामा छापिएको लेखले आजभोलि ठूलो भूमिका निर्वाह गरिरहेको छ ।यो सकारात्मक परिवर्तन पनि हो । तर, कसोकसो हामी पुरुषहरु महिला विरोधी त हुँदै छैनौं ?बेलाबेला सोच्छु ।

पुरुषलाई पृथ्वी निकाला गर्नुपर्छ जस्तो भावमा आउने कुनै महिलावादी एकपक्षीय लेखले नै पुरुषलाई पनि ‘महिलाद्वेष’ पाल्न सघाइरहेको छ । यसअर्थमा महिलापुरुष दुवैले एकले अर्कालाई सम्मान गर्नु जरुरी छ । सृष्टि दुवैको हो । दुवै दुईतिर फर्किए, सम्हालिने को ?कुनै महिलालाई वेश्या भन्दैमा कुनै पुरुषको जीत हुँदैन । किनभने ती वेश्याकहाँ जाने पुरुष नै हुन्छ । ‘महिला असजगता नअपनाएर बलात्कार हुँदिनन् । उनी बलात्कृत हुन्छिन्, किनभने उनलाई कसैले बलात्कार गरेको हुन्छ,’ अमेरिकीमहिलावादी लेखक जेसिका भेलान्टी ।

अरु सम्बन्धित खबरहरु