पोखराको बगादी खोला पुलको शिलान्यास

पोखरा, १९ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित डाँडाकोनाक नजिकै बगादी गडुवा खोलामा मोटेरेबल पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले उक्त खोलामा पुल निर्माण गर्न लागेको हो ।

पक्की मोटेरेबल पुलको सोमबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मोटेरेबल पुलेको शिलान्यास गरेका हुन् ।

३ करोड ३ लाख ८६ हजारको लागतमा निर्माण हुने पुलेको लम्बाइ २० मिटर र चौडाइ ८ मिटर हुनेछ । श्री गीता सावित्री जेभीले एक वर्षमा पुल निमार्ण गरिसक्ने गरी ठेक्का सम्झौंता गरेको पोखरा महानगरपालिका इन्जिनियर राजु रेग्मीले बताए । पुल बनेपछि वडा नम्बर २७ को आवास नगरदेखि रिठ्ठेपानीसम्मका बासिन्दा लाभाम्वित हुनेछन् ।

शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले ७० प्रतिशत भन्दा बढी पुँजीगत खर्च गर्ने गरी योजना बनाएर काम गरेको बताए । प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गरेर नै विकास निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आवश्यकताका आधारमा यो वर्ष महानगरले ७ वटा पुल निर्माणको कामलाई अगाडि बढाएको बताए । जनताले तिरेको करबाट नै महानगरले पुल निर्माण गर्न लागेकाले पुल निर्माणमा निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले पुल निर्माणमा वडा र स्थानीयबासीले सहयोगको साथै निगरानी पनि गर्ने बताए । पुल निर्माणको जिम्मा पाएको श्री गीता सावित्री जेभीका राजेन्द्र पहारीले तोकिएको समयमै पुल निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...