अलि मियाँ लोकवाङ्मय सम्मान पुरस्कार चुडामणि बन्धुलाई

पोखरा,२८ माघ । अलि मियाँ लोकवाङ्मय सम्मान पुरस्कार–२०७०बाट तीन दशक बढी समय लोकवाङमयका क्षेत्रमा साधनारत प्रा. डा.चुडामणि बन्धुलाई सम्मान गरिने भएको छ । पुरस्कारको सञ्चालक संस्था अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट निवृत्त बन्धुका नेपाली भाषाको उत्पति, कर्णाली लोक संस्कृति, भाषा विज्ञान, देवकोटा, नेपाली पर्यायवाची शब्दकोष, गन्धर्व संस्कृतिलगायतका दर्जनौ कृति प्रकाशित छन् ।पुरस्कारको राशी नगद रु. २० हजार, दोसल्ला र ताम्रपत्र रहेको छ । लोककवि अलि मियाँको ९६औं जन्म जयन्तिको अवसरमा आगामी फागुन १५ गते एक समारोहबिच उनलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । पाल्पाको चिरतुङमा वि. स. १९९५मा जन्मिएका बन्धुले भाषा विज्ञानमा विधावारिधी गरेका छन् । गोरखा दक्षिणबाहु, मदन पुरस्कार, महेन्द्र विद्याभूषणजस्ता दर्जनौ पुरस्कृत र सम्मानित भईसकेका छन् ।

यसअघि उक्त पुरस्कारबाट हरिदेवी कोईराला, धर्मराज थापा, भेडीखर्के साईला, खिमबहादुर गन्धर्व, बमबहादुर कार्की, पे्रेमराजा महत र मोतिलाल पराजुली सम्मानित भईसकेका छन् ।

कमेन्टहरु
Loading...