अदालतको फैसला कार्यान्वयन भएकोप्रति इन्सेकद्वारा स्वागत

पोखरा, २८ माघ/जातीय विभेद र छुवाछूतबाट पीडितको पक्षमा जिल्ला अदालत कास्कीबाट क्षतिपूर्ति सहित न्याय प्रदान गरिएको महत्वपूर्ण फैसलाप्रति इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले स्वागत गरेको छ । इन्सेकले माघ २८ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी फैसलाको कार्यान्वयनले जातीय विभेद र छुवाछूतबाट पीडितलाई न्याय प्रदान गर्नुका साथै आम नागरिकमा सुगम र निष्पक्ष न्यायिक अधिकारको प्रत्याभूति गरेको भन्दै फैसलाप्रति जिल्ला अदालत कास्कीलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

घान्द्रुक गाविस–३ का कर्णबहादुर नेपालीलाई ब्रिटिस वेलफेयरको सहयोगमा सम्पन्न खानेपानी आयोजना उद्घाटनको क्रममा आफूहरुलाई सार्वजनिक भोजमा सहभागी गराउन माग गर्दा छुवाछूत विरुद्ध आवाज उठाएको आरोपमा स्थानीय समुदायका केही व्यक्तिहरूले २०६८ कात्तिक २६ गते मोसो लगाई कुटपिट र अमानवीय व्यवहार गरेका थिए ।

“पीडक र पीडित पक्षबाट उक्त फैसलालाई स्वीकार गरी पुनरावेदन नगर्ने लिखित शर्तमा जिल्ला अदालतले फैसलाको कार्यान्वयन गर्दै ०७० माघ २६ गते पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन, जातीय विभेद र छुवाछूतको मुद्दामा एक महत्वपूर्ण उपलब्धी हासिल भएको हाम्रो ठहर छ” विज्ञप्तिमा उल्लेख गरिएको छ । घटनापछि पीडितले जातीय विभेद तथा छुवाछूत कसुर र सजायँ ऐन २०६८ अन्तर्गत जिल्ला अदालतमा न्यायको माग गर्दै मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा जिल्ला अदालतले जातीय विभेद र छुवाछूत, फौजदारी अपराध सरह दण्डनीय रहेको भन्दै ०६९ फागुन १७ गते पीडकबाट जरिवाना लिई पीडितलाई रू.८० हजार क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला गरेको थियो ।

तत्कालीन समयमा उक्त घटनाको इन्सेक क्षेत्रीय कार्यालय पोखराले स्थलगत अध्ययन तथा अनुगमन गरी “जातीय आधारमा छुवाछूत र विभेद गरिएको” भनी प्रतिवेदन समेत सार्वजनिक गरेको इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक भोला महतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...