एक महिना पछि खुल्यो बन्द अन्नपूण पदमार्ग, पर्यटक जान थाले

पोखरा, ६ फागुन / एक महिना अघिको हिमपहिरोले बन्द भएको अन्नपूर्ण सेन्चुरी पदमार्ग पुनः सञ्चालनमा आएको छ । घान्द्रुकबाट छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविर (एबीसी) सम्म पदयात्री पर्यटक पुग्न थालेका छन् ।

एबीसी पुग्ने पदमार्गमा पर्ने सम्पूर्ण होटल खुलिसकेका छन् । बाक्लो हिमापातपछि माघ ३ मा हिंकु केभ र देउरालीको बीचमा हिमपहिरो आएपछि होटल बन्द गरेर पोखरा आएका कामदार पुनः होटल फकिएका छन् ।

मौसम सफा भएको र हिउँ घटिरहेकोले पदमार्ग सुरक्षित रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङले बताए । होटल सञ्चालक र कामदार फर्किसकेकोले पर्यटकलाई कुनै असुविधा नरहेको उनले बताए । हिमपहिरो आएको ठाउँमा हिँड्न मिल्ने गरी बाटो बनिसकेको छ । अन्यत्र कुनै खतरा छैन । अप्ठेरो स्थानमा समितिकै अग्रसरतामा हिउँ पन्छाएर बाटो खुलाउने काम भइरहेको उनले बताए ।

आन्तरिक र बाह्य पर्यटकको आवागमन सुरु भइसकेकोले छ । हिउँमा रमाउँदै पदयात्रा गर्न चाहने पर्यटकलाई अहिले उपयुक्त मौसम हो । हिमपहिरो पछि १७ पर्यटक, गाइड र सहयोगी एबीसी पुगिसकेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पर्यटन बोर्डले पनि हाल पर्यटकलाई रोकेको अवस्था छैन ।

पदमार्गको झिँनु, घुर्सुङ, किम्रोङखोला, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छे« बेस क्याम्प (एमबीसी) र एबीसीमा गरी ६० होटल छन् । भ्रमण वर्ष सन् २०२० को तयारीस्वरुप होटल थपिने क्रममा छन् । भ्रमण वर्ष चलिरहँदा हामी आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्यता दिन आतुर छौं ।

एबीसी आउने पर्यटकले मौसम पूर्वानुमान, स्थानीय व्यवसायी, अनुभवी गाइडसँग समन्वय गर्न भने जरुरी छ । टे«किङ कम्पनीले अरु बेलाभन्दा हिमपातको समयमा एबीसीको आइटिनरी बढाउनुपर्ने देखिन्छ ।

कमेन्टहरु
Loading...