CAN

ट्रान्समिसन लाईनबाट चरा बचाउन ‘बर्ड डिफ्लेक्टर’ राख्न सुझाव

111

पोखरा, १३ मंसिर / पंक्षी समाज पोखराले ४२ किलोमिटर दुरीमा ट्रान्समिसन लाईन ’round गरिएको अनुसन्धानमा २०६ प्रजातिका चराचुरुङी भेटिएको छ । समाजले गएको जेठदेखि विभिन्न समयमा तीन चरणमा गरिएको अध्ययनबाट ती चराचुरुङी भेटिएको जनाएको छ । समाजले कास्कीको कालिकादेखि दमौलीसम्मको बीच भागमा चराको अध्ययन गरिएको थियो ।

‘ट्रान्समिसन लाईन ’round चराको मुभमेन्टलाई आधार मानेर अध्ययन गर्यौं’–पंक्षी समाज पोखराका सचिव हेमन्त ढकालले भने–‘अध्ययनको क्रममा २०६ प्रजातिका चराहरु पाईयो ।’ उनले कालिका स्टेशनदेखि दिपाङताल–उत्तरतर्फ बेगनास डाडा–थुम्की–सेखाटार–रानीटारी हुदैं दमौलीसम्म अध्ययन गरिएको जानकारी दिए । अध्ययन गरिएको विषयमा तयार पारिएको रिपोर्टलाई जनवरीमा प्रदेश सरकारका सम्बन्धीत निकायसँग छलफल गरिने बताए ।

अध्ययनको क्रममा ७ प्रजातिका गिद्ध, बाज, गरुढ, पानी हाँस लगायतका चराहरु भेटिएका छन् । समूहगत रुपमा बसाईसरेर आउने चराहरु समेत देखिने उनको भनाई थियो । भेटिएका गिद्धमध्ये तीन वटा संकटापन्नस्थितिमा छन् । पंक्षी समाजले विशेष गरी ४२ किलोमिटर दुरीमा विस्तार गरिने ट्रान्समिसन लाईनबाट चरालाई हुने सम्भावित जोखिम सम्बन्धी अध्ययन गरिएको थियो ।

जलविद्युत गृहबाट तानिने ट्रान्समिसन लाईनमा ठूला र समूहगत रुपमा उड्ने चराहरु ठोक्किएर मर्ने गरेका छन् । त्यसको न्युनिकरण गर्ने उद्देश्यले त्यो क्षेत्रमा अध्ययन गरिएको पंक्षी समाजका सचिव ढकालले बताए । ‘प्राकृतिक सम्पति नष्ट गरेर लाईन विस्तार गरिदाँ त्यसको प्रत्यक्ष असर चराहरुमा देखिएको छ ।’ उनको भनाई थियो । उनका अनुसार ११० केभी प्रशारण लाईभन्दा माथिको हाईटेन्सन लाईनमा करेन्ट लागेर भन्दा पनि ठोक्किएर बढी चरा मर्ने गर्छन् । ट्रान्समिसन लाईनले हुलमा उड्ने चराहरु बढी मारमा परेको रिपोर्टमा जनाएको छ ।

कालिका क्षेत्रदेखि दमौलीसम्मको क्षेत्रमा बढी सिमसार रहेको छ । ताल वरिपरी चराचुरुङ्गीको बासस्थान हुने गरेको छ । त्यसले गर्दा सिमसार क्षेत्रलाई नमासिकन विद्युत प्रशारण लाईन विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ । विस्तार गरिने तार ‘डिफ्लेक्टर’युक्त हुनुपर्ने सुझाव समेत दिइएको छ । नेपाल विद्युत प्राधिकरण र जर्मनी बैंकको सहकार्यमा निर्माण गरिएको परियोजनाको चिलिमेदेखि त्रिशुलीसम्म अध्ययन गरिएको बताए । ‘हामीले जहाँ बढी चरा डुल्छन् त्यस ठाँउमा डिफ्लेक्टर राख्न सुझाव दिएका थियौं ।’ उनले भने–‘सुझावलाई कार्यान्वयन गर्दै ३ किलोमिटर क्षेत्रमा डिफ्लेक्टर राखिएको छ ।’

पोखरा पंछी समाजले गरेको अध्ययन अनुसार सन २०१२ देखि २०१७ सम्म कास्कीको विभिन्न ठाँउमा गरिएको अध्ययन अनुसार हाईटेन्सन लाईनमा ठोक्किएर हिमाली गिद्ध, राज गिद्ध मरेको तथ्यांक छ । अध्ययनको क्रममा साना, मध्यम र ठूला मांशहारी प्रजातिका चराहरु बढी भेटिएका छन् । जलविद्युतका साना तथा ठूला आयोजनाहरु देशभर नै सञ्चालित छन् । जलविद्युतसँगै सबस्टेशन निर्माण र हाईटेन्सन लाईन विस्तार गरिदैं छ । उत्पादित विजुली हाईस्टेशन मार्फत सबस्टेशनमा जडान गरिन्छ । त्यसपछि केन्द्रीय प्रशारण लाईनमा विद्युत आपूर्ति हुन्छ ।

जलविद्युतका परियोजनाबाट तानिने हाईटेन्सन लाईनको जोखिम उत्तिकै हुन्छ । सबैभन्दा बढी जोखिम चराचुरुङ्गीको लागि हुने गरेको छ । पछिल्लो अध्ययन अनुसार हाईटेन्सन लाईनकै कारण कतिपय चराहरु अति संकटापन्न अवस्थामा पुगेका छन् । मादी नदीको मुहानदेखि दमौलीसम्म नपुग्दै दर्जनौं जलविद्युत परियोजना छन् । ती परियोजनाका विद्युत उत्पादनसँगै ट्रान्समिसन लाईन तान्ने काम समेत हुदैं गएको छ ।