लोमान्थाङ यार्तुङ मेला घोडामा रानी

लोमान्थाङ(मुस्ताङ), २१ भदौ / बस्तीकै बीचमै घोडाहरु एकपछि अर्को गर्दै दौडिए । घोडा दौडाउन पहिलो दिन युवाहरुको जमात थियो । दोस्रो दिन महिलाहरु घोडाचढी गरेर निस्किए । अन्तिम दिन भने लामाहरुले दौडाउँदै बर्खे मेला अर्थात यार्तुङ टुंगिएका छन् ।

पहिलो दिन दिनभर नाचगान शुरु गरेपछि गोधुली साँझभन्दा अघि मात्रै घोडा दौडाइएको थियो । ३८ सय मिटरको उचाईमा रहेको लोमान्थाङमा मनाईने यार्तुङको दोस्रो दिन पनि पहिले दिन जस्तै गाँउका भद्र महिलाहरु लोमान्थाङ दरबार पुगेर रानी दोयलालाई शुभकामना दिन पुगे ।

शुभकामना दिएपछि मन्ध्यान्हमा रानी दोयला दरबारबाट निस्कदैं यार्तुङ मेलामा घोडचढी शुरु भयो । रानीलाई साथ भने राजा जिम्मेसिङ्गी परवल विष्टले साथ दिएका थिए । जिम्मेसिङ्गीलाई लोमान्थाङबासीले साँस्कृतिक राजाको रुपमा मान्ने गर्छन् ।

बस्ती भन्दा माथिको फाँटमा विभिन्न समूहका महिलाहरु परिकार पकाउन व्यस्त बने । महिलाहरु भने घोडा चढी मात्रै गरे । दौडमा प्रतिस्पर्धा भने गरेनन् । महिलाहरु २० जना जति सहभागि थिए । आज शुक्रबार अन्तिम दिन लामाहरुले त्यसैगरी यार्तुङ मेलामा रमाउँदै वर्षदिनको लागि विश्राम लिएका छन् । लामाहरु ५१ जना घोडा दौडमा सहभागि रहेको गण्डकी प्रदेशका सदस्य एवं स्थानीय समाजसेवी इन्द्रधारा विष्टले जानकारी दिए ।

‘घोडा दौडसँगै मनोरन्जनात्मक गतिविधिले तीनदिने यार्तुङ मेलालाई भव्य रुपमा समापन गरियो ।’ उनले भने–‘मेलाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास लोमान्थाङबासीको छ ।’ जताततै बाटोले जोडिदैं गएको छ । मोटरबाटोसँगै सवारी साधनको रुपमा रहेको घोडा पाल्ने प्रचलन अब घट्दै जाने सम्भावना छ । त्यसको प्रत्यक्ष असर यार्तुङ मेलामा देखिने सम्भावना उत्तिकै छ ।

यार्तुङ लोमान्थाङबासीको ऐतिहासिक साँस्कृतिक चाड हो । खेती किसान गरी आयआर्जन गर्न नककिने भन्दै विष्टले सँस्कृतिलाई प्रवद्र्धन गर्न पर्यटनसँग जोड्नुपर्ने उल्लेख गरे । ‘युनिक साँस्कृतिक बचाउनुपर्छ ।’ प्रदेश सभा सदस्य विष्टले थपे–‘त्यही सँस्कृति पर्यटन प्रवद्र्धनको नयाँ आधार बनाउने ध्येय छ ।’

हिमाली साँस्कृतिक रुपमा रहेको यार्तुङ लोमान्थाङबासीको सबैभन्दा ठूलो पर्व हो । पर्व मनाउन पनि दिन हेराएर मात्रै आयोजना गर्ने परम्परा छ । पात्रो हेरेर मात्रै हुदैन् । राजाले स्वीकृति दिएपछि मात्रै यार्तुङ मेलाले मूर्त रुप लिन्छ । यार्तुङ मेला हेर्न आन्तरिक तथा बाह्य पर्यटक समेत लोमान्थाङ पुगेका थिए । सबैभन्दा पुरानो यार्तुङ मेला लोमान्थाङीले मनाउने इतिहास छ ।

२१ औं शताब्दीमा पनि यार्तुङलाई निरन्तरता दिएको प्रति मुस्ताङी राजा जिग्मेसिङ्गी परवल विष्टले सुनाए । यार्तुङलाई पर्यटनसँगै जोड्दै मौलिक सँस्कृतिलाई जोगाई राख्नुपर्नेमा राजा विष्टको जोड थियो ।

लोमान्थाङका मुखिया घिर्मीवाङ्गेल (ज्ञानेन्द्र) विष्टले यार्तुङ साँस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड दिदैं यार्तुङ मेलाले लोमान्थाङबासीलाई एकताबद्ध बनाईराखेको बताए । ‘आफनो रितिरिवाज अनुसार साँस्कृति भेषभुषा लगाई मनाईने यार्तुङलाई जीवन्त राख्नुपर्छ ।’ उनको भनाई थियो । स्थानीय युवा छोवाङ गुरुङले यार्तुङ मनोरन्जनको साधन समेत रहेको औल्याए ।

‘हिजो मनोरन्जनको साधन थिएन । कामसँगै मानिसलाई मनोरन्जन पनि चाहिन्छ । मनोरन्जनको क्रममा आफनै मौलिक सँस्कृति झल्किने यार्तुङ मेलाको शुरुवात भएको हो ।’ उनले भने–‘यार्तुङको सँस्कृति संरक्षणमा अब युवापुस्ता जुट्नुपर्छ ।’

 

कमेन्टहरु
Loading...