टे«किङ गएका बेलायती पर्यटक बेपत्ता

पोखरा, भदौ १७/अन्नपुर्ण क्षेत्रको ट्रेकिङमा गएका एकजना बेलायती पर्यटक दुईसातादेखि बेपत्ता भएका छन् । बेलायतका २३ वर्षिया जर्ज जोशेफ अबोडि अन्नपुर्ण क्षेत्रमा बेपत्ता भएको टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) ले जनाएको छ । टान पोखरा च्याप्टरका अध्यक्ष नारायणप्रसाद सापकोटाका अनुसार अन्नपुर्ण क्षेत्रको पदयात्रामा जाने भन्दै अबोडिले पोखराबाट गत अगष्ट १ मा अनुमति लिएका थिए । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पदयात्री सुचना व्यवस्थापन प्रणालि (टिम्स) को अनुमति लिएर उनी पदयात्रामा निस्केको सापकोटाले जानकारि दिए । अगष्ट तीनदेखि १६ तारिखसम्म पदयात्रामा जानेगरि उनले अनुमति लिएको सापकोटाले बताए । उनी एक्लै टे«किङ गएका थिए ।
MissingTourists‘अगष्ट तीनदेखि १६ तारिखसम्म ट्रेकिङ जानेगरि उनी पोखराबाट निस्केका हुन् । अगष्ट ५ मा पोथाना चेकपोष्टमा उनले अन्तिम पटक नाम दर्ता गराएपनि त्यसपछि बेखबर छन्’ सापकोटाले भने, ‘परिवारले खोजतलास गरेपछि मात्र उनी बेपत्ता भएको जानकारी आएको हो ।’ अगष्ट २१ मा थाईल्याण्ड पुग्नुपर्ने तालिका रहे बमोजिम नपुगेपछि बल्ल हराएको थाहा भएको अध्यक्ष सापकोटाले बताए । अबोडि अन्नपुर्ण आधारशिविरसम्म पुग्नेगरि अनुमति लिएका थिए । उनको पासपोर्ट नम्बर ४६४९८४८०४ रहेको छ ।
अबोडिको खोजिका लागि त्यस क्षेत्रका पर्यटन व्यवसायी र स्थानीयबासिलाई खबर गरिसकेको सापकोटाले बताए । ‘एक्लै गएकोले हामीलाई समस्या परेको हो । अप्ठेरोमा परेको भन्ने जानकारी पाएको भए तत्काल उद्धारमा जान सजिलो हुन्थ्यो । तर बेखबर भएकोले अप्ठेरो परेको छ’ उनले भने, ‘तैपनि हामीले कोशिष गरेका छौ । स्थानीयबासिलाई पनि उनको बारेमा जानकारी दिएका छौ ।’ परिवारका सदस्यले पनि खोजतलासका लागि टान केन्द्रलाई अनुरोध गरेको उनले बताए ।
टान केन्द्रीय कार्यालयका संचार संयोजक मछिन्द्र आचार्यका अनुसार बेलायती दुतावासले पनि आफ्ना नागरिक अन्नपुर्ण क्षेत्रमा हराएको भन्दै खोजिका लागि अनुरोध गरेको छ । ‘दुतावासमा परिवारले सम्पर्क गरेका रहेछन् । त्यसपछि हामीलाई दुतावासले पहल गरिदिन अनुरोध गरेको छ’ आचार्यले भने, ‘दुतावासले पनि हराएका अबोडिको खोजिका लागि भिन्दै टिम खटाईसकेको छ ।’ आचार्यका अनुसार अबोडि अन्नपुर्ण पछि लाङटाङ क्षेत्रको पदयात्रामा जाने गरि नेपाल आएका हुन् । तर अन्नपुर्ण क्षेत्रबाट बाहिरिएको जानकारी नआएको उनले बताए । ‘परिवारमा सम्पर्क नगरेको र अन्नपुर्ण क्षेत्रबाट बाहिरिएको भन्ने कुनै ठोस आधार नभएकोले पनि उनी बेपत्ता भएको बुझियो’ उनले भने, ‘उनको परिवारमा पनि यसबारेमा केहि जानकारि छैन ।’
बेपत्ता भएका नागरिकको खोजिका लागि दुतावासका पदाधिकारी सोमबार अन्नपुर्ण क्षेत्रमा पर्ने कास्कीको विरेठाँटी पुगेका छन् । उनीहरुले त्यहाँका पर्यटन व्यवसायी र टानको चेकपोष्टमा सोधखोज गरेका थिए । ‘बेलायती दुतावासबाट दुईजना पदाधिकारी आएका छन् । उनीहरुले आफ्ना नागरिक हराएको भन्दै खोजतलास गरिदिन अनुरोध गरेका छन्’ विरेठाँटी चेकपोष्टकी कर्मचारी सोना श्रेष्ठले भनिन, ‘हराएका व्यक्तिको फोटो, हुलिया र पासपोर्ट नम्बर लगायतका जानकारी दिएर गएका छन् ।’ टोलि केहिदिन यसै क्षेत्रमा रहेर खोजि गर्ने उनले बताईन् ।

कमेन्टहरु
Loading...