४ बुँदे सहमतिपछि इन्धन आपूर्ति सहज हुने

२२ फागुन, काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत ट्याँकर मजदूरहरुबीच इन्धन आपूर्ति सहज बनाउने सहमति भएको छ । मंगलबार आयल निगमको कार्यालयमा भएको वार्तामा मजदूरहरुको माग पूरा गर्ने सहमति भएको हो ।

भारतमा इन्धन ढुवानी गर्न गएका ट्याँकर सहचालकको हत्या भएपछि मृतकका परिवारलाई राहत र सुरक्षाको माग गर्दै मजदूहरु हडतालमा उत्रिएका थिए । इन्धन ढुवानी नै ठप्प पारेर मजदूरहरु आन्दोलित भएपछि राजधानी लगायत देशभर नै इन्धन अभाव भएको छ । ‘सहमति लगत्तै अब इन्धन ढुवानी, आपूर्ति र वितरण सहज हुन्छ’ निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले अनलाइनखबरसित भन्नुभयो ।

आन्दोलनरत मजदूरहरुले पनि सहमति लगत्तै मंगलबार बेलुकीदेखि नै इन्धन ढुवानी शुरु हुने बताएका छन् । ‘हामी हामी नियमित ढुवानी थाल्नेछौं’ नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका मध्यमाञ्चल ईन्चार्ज दीपककुमार मैनालीले भन्नुभयो ।

मृतक सहचालकका परिवारलार्इ ८ लाख क्षतिपूर्ती

दुई पक्ष बीचको वार्तामा भारतमा अपहरण गरी हत्या गरिएका सहचालकका परिवारलाई ८ लाख रुपैंया राहत दिने सहमति भएको छ । यस्तै ढुवानी मजदूरलाई निगमद्वारा ५ लाख रुपैंयाको बिमा गरिदिने तथा मजदूरको सुरक्षाको जिम्मा सरकारले लिने सहमति भएको मैनालीले बताउनुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...