पोखरामा सार्कको परराष्ट्र मन्त्रीस्तरीय बैठक, पहिलो दिन चार विषयमा छलफल

पोखरा, १ चैत/दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठकका सन्दर्भमा कार्यक्रम समितिको बैठक पोखरामा जारी छ । बैठकमा साउथ एशियन युनिभर्सिटी, सार्क डेभलपमेन्ट फन्ड, सार्क आर्विटेसन काउन्सिल, साउथ एशियन रिजनल स्टाण्डर्डस् अर्गनाइजेसनले आ–आफ्नो संस्थामा भए गरेका कामको प्रतिवेदन पेस गरेको परराष्ट्र मन्त्रालय सार्क महाशाखा प्रमुख एवं कार्यक्रम समिति संयोजक सहसचिव मणिप्रसाद भट्टराईले जानकारी दिए ।

पोखरामा सार्कको परराष्ट्र मन्त्रीस्तरीय बैठक, पहिलो दिन चार विषयमा छलफल
पोखरामा सार्कको परराष्ट्र मन्त्रीस्तरीय बैठक, पहिलो दिन चार विषयमा छलफल

बैठकमा अघिल्लो बैठकले गरेका निर्णयको समीक्षा गरेको थियो । त्यसैगरी मंगलबार सार्कको क्यालेन्डर अफ एक्टिभिटिज लगायत विषयमा छलफल हुनेछ । छलफलपछि प्रतिवेदनको मस्यौदा तयार हुने र सदस्य राष्ट्रले कार्यक्रम समितिमा निर्णय स्वरुप अन्तिम रुप दिइनेछ । अर्को दिन स्थायी समितिको बैठकमा पेस हुने बैठक स्थल पोखरा होटल ग्राण्डमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

४ चैतसम्म संचालन हुने बैठकको उद्घाटन सार्कका महासचिव अर्जुनबहादुर थापाले गरेका हुन् । बैठक उद्घाटन गर्दै उनले सार्क राष्ट्रका सदस्यहरुले आपसी सम्बन्ध सुदृढ गर्न र अनुभवको आदानप्रदान गर्न बैठक महत्वपूर्ण हुने बताए । बैठक अध्यक्षता परराष्ट्र मन्त्रालय सार्क महाशाखा प्रमुख भट्टराईले गरेका छन् । बैठकमा फिप्टी–सेकेन्ड अफ द प्रोग्रामिङ कमिटी अन्तर्गत ८ राष्ट्रका परराष्ट्र मन्त्रालयका सहसचिव लगातका व्यक्तिहरुको सहभागिता छ ।

पहिलो २ दिन कार्यक्रम समिति बैठक हुनेछ भने तेस्रो दिन स्थायी समिति बैठक हुनेछ । अन्तिम दिन ४ चैतमा परराष्ट्र मन्त्रीस्तरीय बैठक संचालन हुनेछ । परराष्ट्र मन्त्रीपरिषद्को उक्त दिनको बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बैठकलाई मध्यनजर गरेर पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । सरसफाई गरी सहरलाई सुन्दर बनाइएको छ । नेपालमा गत वर्ष १० र ११ मंसिरमा सार्कको १८ औं शिखर सम्मेलन सम्पन्न भएको थियो ।

जसले ३६ बुँदे घोषणापत्र जारी गरेको थियो । सार्क सदस्य राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, मालदिम्भ, श्रीलंका र अफ्गानिस्तान हुन् । आगामी नोभेम्बरमा १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुँदैछ ।

कमेन्टहरु
Loading...