पोखरामा पनि एकिकृत सम्पति कर

पोखरा,३० साउन ।पोखरा उपमहानगरपालिका एकिकृत सम्पती कर लगाउन तयार भएको छ । उपमहानगरपालिकाले सम्पती करलाई ब्यवस्थित तरिकाले लागु गर्न कार्यकारी अधिकृत झलकराम अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा पोखरा उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्षसहित ४ जना, कास्कीमा अस्तित्वमा रहेका राजनीतिक दलका प्रमुख, उपमहानगरपालिकाका विभागीय प्रमुखहरु, शैक्षिक संस्थासँग सम्बन्धित संघ÷संस्थाका प्रतिनिधी तथा पर्यटन ब्यवसायी रहेका छन् ।
कुनै पनि नागरिकको स्वामित्वमा नगर क्षेत्रभित्र रहेको जग्गा तथा सो जग्गामा बनेका भौतिक संरचनाको मूल्याङ्कन गरी सो मूल्यमाथि लगाइने कर नै एकिकृत सम्पति कर हो । पोखरा उपमहानगरपालिकाका कर अधिकृत शिवहरि शर्माका अनुसार एकिकृत सम्पति कर लागु भएपछि मालपोत भूमिकर( तिरो) र घरजग्गा कर बिस्थापित हुनेछन् । एकिकृत सम्पति कर लागु भएपछि फोहरमैला लगायतका अन्य कर भने यथावत नै रहन्छन् । अहिले नगरबासीले तिरो र घरजग्गा कर दुबै तिर्दै आएका छन् ।
नगर क्षेत्रभित्र ठूलो क्षेत्रफलमा रहेको जग्गामा एउटा घर भएकाहरुले अहिले त्यो घर तथा जग्गाको मूल्याङ्कन गरी कर तिर्दा महंगो भएको गुनासो गर्दै आएको परिपेक्ष्यमा उपमहानगरपालिकाले एकिकृत सम्पति करको अवधारणा ल्याएको हो । जग्गाको मूल्याङ्कन मालपोतले तोके बमोजिम नै हुने छ । मालपोत कार्यालयले ठाउँ हेरी जग्गाको फरक फरक मूल्याङ्कन गर्ने गर्छ । स्थानीय स्वायत्त शासन ऐनले १० लाखभन्दा तलको सम्पतिमा कर नलाग्ने, १० लाखदेखि २० लाखसम्मकोमा २५ देखि २ सय रुपैयाँ, २० लाखदेखि तीसलाखसम्म २ सय ५० देखि ४सय रुपैयाँ, ३० लाखबाट ५० लाखसम्म १२ सय देखि ३ हजार रुपैयाँसम्म, ५० लाखबाट १ करोडसम्म ३ हजार ५ सयदेखि १०हजारसम्म, एक करोडदेखि २ करोडसम्म १२ हजारदेखि २० हजार रुपैयाँसम्म, २ करोडदेखि ५ करोडसम्म २५ हजारदेखि ६० हजार रुपैयाँसम्म र ५ करोडभन्दा माथि प्रत्येक हजारको २ रुपैयाँ कर तोकेको छ ।
एकिकृत सम्पति करबारे छलफल गर्न उपमहानगरपालिका तथा पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा बुधबार आयोजित छलफल कार्यक्रममा अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गरिएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले समितिको अध्ययन र सुझावपछि आउँदो माग १ गतेदेखि एकिकृत सम्पति कर लगाउने कार्य सुरु गर्न सकिने जानकारी दिए । कर तिर्नु नागरिकको र करको सही सदुपयोग गर्नु उपमहानरपालिकाको कर्तब्य भएको बताउँदै उनले एकिकृत सम्पति कर लागु भएपछि नागरिकहरुलाई सजिलो हुने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले एकिकृत सम्पति कर लागु गराउने उपमहानगरपालिकाको निर्णयको स्वागत गर्दै निजी क्षेत्र उपमहानगरपालिकालाई सघाउन तयार रहेको धारणा व्यक्त गरे । कार्यक्रममा कास्कीमा अस्तित्वमा रहेका राजनीतिक दलका प्रतिनिधी, उद्योगी÷ब्यवसायीहरुको उपस्थिति रहेको थियो । उनीहरुकै सहमतिमा उपमहानगरपालिकाले सम्पति कर कार्यान्वयनको अभियान अगाडि बढाएको हो ।
 

कमेन्टहरु
Loading...