भद्रकाली ट्याक्सी इकाईले फुटबल प्रतियोगिता गर्ने

पोखरा, ९ भदौ/भद्रकाली ट्याक्सी इकाई समितिको आयोजना तथा ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा पोखरामा अन्तर ट्याक्सी इकाईस्तरीय प्रथम सेभेन–ए–साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता भदौ २६ देखि २९ गतेसम्म पोखरा – १३ संगमटोलस्थित माछापोखरी खेल मैदानमा संचालन हुने समितिका सचिव पुर्ण जि.सीले जानकारी दिए ।
समितिका अध्यक्ष श्रीप्रसाद गुरुङका अनुसार, ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा २५ वटा ट्याक्सी इकाई समितिले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै चार लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेता समुहलाई नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३३ हजार तीन सय ३३ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यसैगरी, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट स्ट्राइकर र अनुसाशित समुहलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि इकाई अध्यक्ष श्रीप्रसाद गुरुङको संयोजकत्वमा आयोजक समिति र विभिन्न पाँच वटा उपसमितिहरु गठन गरिएको छ ।
जसमा भिम गुरुङको संयोजकत्वमा खेल संचालन, मिनबहादुर नेपालीको संयोजकत्वमा पार्किङ व्यवस्थापन, सुकदेव नेपालीको संयोजकत्वमा सुरक्षा, गोपाल त्रिपाठीको संयोजकत्वमा अर्थ संकलन र पुर्ण जि.सीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । प्रतियोगिताको मह जोडीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
 

कमेन्टहरु
Loading...