सुरक्षाअधिकारीको स्वागत

पोखरा, १ फागुन/सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले पोखरामा हालै सरुवा भई आएका दुई सुरक्षाअधिकारीको स्वागत गरेको छ । सेवा केन्द्रले मङ्गलबार एक कार्यक्रम गरी गण्डकी अञ्चल प्रहरी कार्यालयको प्रमुखमा सरुवा भई आएका प्रहरी बरिष्ठ उपरीक्षक केदारमानसिंह भण्डारी र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखमा सरुवा भई आएका प्रहरी उपरीक्षक केदार रिजाललाई स्वागत गरेको हो ।

संस्थाकी अध्यक्ष पम्फा पहारीले उनीहरुलाई खादा सहित पुष्पगुच्छा प्रदान गरेकी थिईन् । कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक भण्डारीले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि नागरिकले सहयोग गर्नुपर्ने बताए । प्रहरीलाई भौतिक वा आर्थिक सहयोग जरुरी छैन उनले भने – घर, छिमेक र टोलमा भइरहेका गतिविधि बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गरे ।

उनले अपराधीक गतिविधिमा संलग्नलाई कारवाही र पीडितलाई न्याय दिलाउने प्रतिवद्वता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक रिजालले नागरिकसँग सहकार्य गरी सुरक्षा व्यवस्थालाई मजबुद बनाउने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटा, संस्थाका पुर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, राप्रपाका गणेश ढकाल लगायतले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिन आग्रह गरेका थिए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष हेम तिमिल्सिनाले स्वागत र सचिव भीम पराजुलीले कार्यक्रम संचालन गरेका थिए।

कमेन्टहरु
Loading...