म्याग्दीको नारच्याङमा भीषण सुख्खा पहिरो

पोखरा, ११ फागुन/ निलगिरी र अन्नपूर्ण हिमालको बीचमा रहेको म्याग्दीको नारच्याङ गाविसको घल्याम्दीमा भीषण सुख्खा पहिरो गएको छ। गएराति झरेको भीषण सुख्खा पहिरोको धुलो आसपासका गाउँसम्म पुगेको स्थानीयबासीले जानकारी दिएका छन्।

धुलोले गाउँ सेताम्य भएको स्थानीयबासीले बताएका छन्। निकै माथिबाट झरेको पहिराले बेनी(जोमसोम खण्डको भुरुङ तातापोनीसम्म धुलो पुगेको छ। नारच्याङका स्थानीयबासी अनिश गुरुङले सुख्खा पहिरो झरेको र धुलो टाढाटाढाका गाउँसम्म पुगेको जानकारी दिए।

सडकमार्गबाट निकै टाढा रहेको उक्त गाउँमा भएको क्षतिबारे अझै यकिन भएको छैन। म्याग्दीका डिएसपी विश्वराज खड्काले पहिरो झरेको पुष्टि गर्दै क्षतिबारे अझै विवरण नआएको बताए। उनका अनुसार बेनी—जोमसोख सडक खण्डको दानाबाट करिब १ दिन पैदल हिडेपछि बल्ल उक्त गाउँमा पुग्न सकिन्छ।

सुख्खा पहिरो झरेको यकिन भएको उनले बताए। रातीको पहिरोले घल्याम्दी खोलाको पानी समेत धमिलिएको छ। पहिरो झरेको ठाउँ नजिक बस्ती नभएकोले पनि मानवीय क्षति नभएको हुनसक्ने उनले बताए। अन्नपूर्ण आधारशिविरबाट पनि यो ठाउँ नजिक पर्ने उनले बताए। प्रहरीका एक टोली अहिले पहिरोस्थलतर्फ गइरहेको डिएसपी खड्काले जानकारी दिए।

कमेन्टहरु
Loading...