मुद्रा तस्करी गर्ने एसएसपी बर्खास्त

केपी ढुंगाना, काठमाडौं, चैत २३- विदेशी मुद्रा तस्करीको मुख्य मतियार देखिएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठको जागिर गएको छ। गृहमन्त्रालयले शुक्रबार उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। करिब पाँच महिनादेखि श्रेष्ठ निलम्बनमा थिए।

पछिल्लो समय गृहले उनलाई घटनामा संलग्नताबारे प्रष्टीकरण दिन सात दिने म्यादसहित सार्वजनिक सूचना जारी गरेको थियो। उनले दिएको प्रष्टीकरण चित्तबुझ्दो नदेखिएपछि मन्त्रीस्तरीय निर्णय गर्दै सामान्यतया सरकारी नोकरीमा अयोग्य नठहरिनेगरी उनलाई बर्खास्त गरिएको हो।

त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा हुन्डी र सुन तस्करीमा सक्रिय ब्यापारीहरुसँग मिलेर विमानस्थलको प्रहरी सुरक्षा च्यानल कटाएर सहयोगीमार्फत् विदेशी मुद्रा तस्करीमा एसएसपीको संलग्नता पुष्टि भएको थियो।

फ्लाइ दुबईको विमानमा भारतीय नागरिक विनोदुमार सोनी सवा करोड नेपाली रुपियाँ बराबरको विभिन्न देशका विदेशी मुद्रासहित पक्राउ परेपछि एसएसपी श्रेष्ठ प्रहरी बर्दीमा तस्करीमा सक्रिय रहेको खुलेको थियो। प्रहरी प्रधान कार्यालयले गठन गरेको समितिले समेत उनलाई मुख्य मतियार ठहराएपछि प्रहरी महानिरीइक कुवेर सिंह रानाले निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरेका थिए।

उनको सहयोगी प्रहरी हवल्दार सोभित कार्की भने धरौटी बुझाउन नसकी कारागारमा छन्। विदेशी मुद्रा तस्करीमा एसएसपी श्रेष्ठलाई बर्खास्त गरी फौजदारी अभियोग कारबाहीमा भने उन्मुक्ति दिइएको छ। गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको पुष्टि हुँदाहुँदै गृहले पनि उनलाई भविष्यमा सरकारी सेवाका लागि बाटो खुल्ला गरेको छ।

कमेन्टहरु
Loading...