हेममणि सिम्खडाको स्मृति दिवस मनाइयो’

भाद्र १६, पोखरा /जनयुद्धका शहीद हेममणि सिम्खडाको ११औं स्मृति दिवस आइतबार एकीकृत नेकपा (माओवादी) पार्टी कार्यालय शिवालयचोकमा सम्पन्न भएको छ । स्मृति कार्यक्रममा बोल्दै एकीकृत माओवादीका नेता रामजी बराल ‘जीवन’ले शहीदहरुको बलिदानीको प्रतिफल नै आजको परिवर्तन भएको बताउनुभयो । नेता बरालले भन्नुभयो –‘हेममणि जस्ता युवा साथीहरुको बलिदानी नै वर्तमान परिवर्तनको उपज हो ।’ बरालले हेममणि सिम्खडा एक असल र जुझारु क्रान्तिकारी भएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी संचार गृहका प्रवन्धक एवम् शहीद परिवार एलपी बञ्जराले जनयुद्धको बलिदानीलाई सम्मान गर्न नसक्नेहरुले गणतन्त्रप्रति गौरव गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव तेजकुमारी पौडेल, एकीकृत माओवादीका राज्य समिति सदस्य ज्ञानबहादुर कोइराला, अर्जुन मल्ल, बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बराल लगायतले शहीदहरुलाई राज्यले राष्ट्रिय सम्मान दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा हेममणि सिम्खडाकी आमा राधिका सिम्खडाले एकीकृत माओवादी पार्टीले शहीदहरुको सपनाप्रति प्रतिवद्व रहनुपर्ने भन्दै अझै पनि शहीदहरुको वास्तविक सम्मानको जरुरी रहेकोमा जोड दिनुभयो । कार्यक्रममा एकीकृत माओवादीका नेताहरु मनहरि तिमिल्सिना, कृष्ण गिरी, विश्वप्रकाश लामिछाने, स्थीरप्रसाद खनाल, शहीद महेश पहारीकी श्रीमति दुर्गा पहारी लगायतको आतिथ्यता रहेको थियो । एकीकृत माओवादी कास्की कार्यालयका मूख्यसचिव लालमोहन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्षेत्र नं. १ का संयोजक गंगा पोखरेलले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...