ट्राईब्रेकरमा मंच बिजयी

पाल्पा २८ माघ/नेपाल खेलकुद पत्रकार मंच पाल्पाको संयोजनमा तानसेनको टुडिखेलमा भएको मैत्रीपुर्ण फुटवल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन मंगलबार भएको प्रतिस्पर्धामा स्थानीय शान्ति समितिलाई ट्राईब्रेकरमा ० का बिरुद्ध ३ गोल गर्दै मंच बिजयी भएको छ ।

निर्धारित समयमा दुबै टिमबाट ३–३ गोल भएको थियो । थपसमयमा समेत दुबैपक्षबाट गोल हुन नसकेपछि ट्राईब्रेकरको सहारा लिनुपरेको थियो । मञ्चको तर्फबाट अनिल लिगल, कपिल कार्की, र भरत आचार्यले गोल गरेका थिए । ट्राईब्रेकरमा शान्ति समितिको तर्फबाट हानेको सबै बल गोलकिपर भरत शर्माले जाली चुमाउन दिएनन् ।

प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले रेफ्रीलाई बल दिएर, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सिठी फुकेर र स्थानीय शान्ति समितिका संयोजक विशाल दर्लामीले झण्डा प्रदान गरेर खेलको उद्घाटन गरेका थिए । कार्यक्रमबारे प्रकाश पार्दै आयोजकका तर्फबाट युथ एक्सनका संयोजक कृष्ण कार्कीले शान्ति, सद्भाव साथै भाइचाराका लागि आगामी दिनमा पनि यस्तो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए ।

दर्शकको उल्लेख्य सहभागिता रहेको खेलमा जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मीको उपस्थिति थियो । सोमबार नेपाल पत्रकार महासंघ र कर्मचारी मिलनकेन्द्रबीच खेल हुने मंचका अध्यक्ष माधब अर्यालले जानकारी दिए । खेल मन्चका साथै युथ एक्सन नेपाल, जिल्ला खेलकुद विकास समिति, नेपाल पत्रकार महासंघ,कर्मचारी मिलन केन्द्र, जिल्ला फुटबल संघ जिल्ला शाखा आयोजक हुन् ।

कमेन्टहरु
Loading...