संगीतमा कहिल्यै घाटा हुँदैन’

रेम बिक
पोखरा, २० माघ/संगीतप्रति लगाव त सानै देखिको हो । तर, बागलुङको गाउँ गाउँमा हुने तत्कालिन समयको रक्तिम सांगीतिक परिवारसंग विभिन्न कार्यक्रमहरुमा पुग्ने योगेश काजी विसी नाच्नमै व्यस्त हुन्थे । रक्तिमका प्रखर गायक जीवन शर्माले गाउँदै गर्दा उनकै गीत गुनगुनाएर धेरै चोटी उफ्रदै नाच्दा कहिलेकाँहि अरुले पनि योगेशले गुनगुनाएको सुन्थे । र, भन्थे, ‘बाबु तिमी राम्रो गाउँदा पनि रहेछौ बरु गीत गाउनेतर्फ लाग न ।’ एक दिन त नाचको तयारी गर्ने बेलामा उनले गीत पनि ठुलै स्वर बनाएर गाए । उनको गीत सुनेपछि रक्तिमका उनै गायकले पनि उनलाई सुझाए, ‘तिमीले गाएको राम्रो छ, तिमीले नाच्नुभन्दा बरु गाउन ठिक छ ।’त्यसपछि बागलुङ, बेनी, पर्वत लगाएतका स्थानमा हुने मेला महोत्सवमा आयोजकलाई विन्ति भाउ चढाउँदै गीत गाउने दिनहरु शुरु भए । धेरै ठाउँबाट उनको स्वरको तारिफ हुन थाल्यो । बागलुङकै एफएम स्टेशनहरुमा विज्ञापन मेकिङको काम समेत गरेका उनी त्यतिबेला पोखरा आए जतिबेला पोखराको एउटा युवाहरुको जमात फिल्म बनाउन लागिपरेको थियो । बागलुङमै हुँदा साथी रहेका निर्मल सेञ्चुरी सहित नेत्र गुरुङ, मिलन शंकर, भीम सुनार लगाएतका साथीहरुको संगतले उनलाई पोखरामा पनि चिनायो ।

योगेश काजी बिसी अहिले संगीतकार बनिसके । उनी गीत गाउँछन्, गीतमा संगीत भर्छन्, कम्पोजिसन गर्छन् र गीतको मिक्सिङ पनि । अहिले त अझ उनले संगीतलाई नै आधार बनाएर आफ्नो व्यवसाय पनि शुरु गरिसके । वाईएसके डिजिटल साउन्ड नाम दिएर भर्खरै उनले पोखराको न्यूरोडमा डिजिटल रेकर्डिङ स्टुडियो संचालनमा ल्याएका छन् । ‘संगीत मेरो नशा नशामा छ ।’ न्यूरोडस्थित आफ्नै रेकर्डिङ स्टुडियोमा आदर्शनेपालसंग गफिँदै आफ्नो बारेमा सुनाए–‘अब त मैले चाहेर पनि संगीतभन्दा बाहिर भएर बाँच्न सक्दिन ।’ संगीतकै मोहले गर्दा उनी केहि महिना अगाडी वैदेशिक रोजगारका लागी जापान पुगेर पनि त्यहाँ रहन सकेनन् । भन्छन्,–‘जापानमा मेरो लागी सांगीतिक वातावरण नै भएन, त्यसपछि मैले नेपालमै आएर सांगीतिक क्षेत्रमा केहि गर्नुपर्छ भनेर फर्किएँ ।’

नेपालको सांगीतिक क्षेत्र धराशायी भएर गायकगायिकाहरु बिदेशिईरहेको बेलामा किन फेरी जापान पुगेर पनि फर्केको त ? हाम्रो प्रश्नमा केहि गम्भिर हुँदै योगेश काजीले भने–‘त्यस्तो होईन, संगीत कहिल्यै पनि घाटामा नजाने क्षेत्र हो तर संगीतको बाहिरको व्यापारीहरु यो क्षेत्रमा हावी हुँदा यो क्षेत्रमा समस्या आएको हो ।’ यद्यपी राम्रो कला कहिल्यै पनि पछि नपर्ने हुँदा संगीतलाई बुझेर यस क्षेत्रमा लाग्ने हो भने कलाकारहरुको भविष्य सुन्दर रहेको उनी बताउँछन् । अहिले मुलधारका मानिएका केहि गायकगायिकाहरुले गाएकै भरमा काठमाण्डौमा घर बनाएर गाडी चढेर हिँडेको उदाहरण उनले प्रस्तुत गरे ।

पोखरामा हुने गरेको रियालिटि शो भ्वाईस अफ पोखराको दोस्रो सँस्करणको विजेता तथा साउथ एशियन स्टारका टप फाईभ समेत भैसकेका योगेशले अहिलेसम्म आफ्नै स्वरमा ३३ वटा गीत रेकर्ड गराईसकेका छन् । त्यस्तै ५० भन्द बढि गीतको कम्पोजिसन र ७० भन्दा बढि गीतमा एरेन्ज गर्न समेत भ्याईसकेका छन् । भर्खरै मात्र सपना र वितेका दिन नामक दुई डकुमेन्ट्री फिल्ममा ब्याकग्राउन्ड स्कोरीङ गरिरहेका योगेशले चाँडै एउटा फिल्ममा संगीत भर्दैछन् ।

कमेन्टहरु
Loading...