वैद्य टर्च बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्नेछन् : गजुरेल

सन्तोष सिंह, सर्लाही, वैशाख ६- एमाओवादी मधेस ब्युरो इन्चार्ज हरिबोल गजुरेलले नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य टर्च बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने चेतावनी दिएका छन्। ‘पार्टी एकता गरेर वैद्यले भविष्य जोगाउनुको विकल्प छैन’, गजुरेलले भने-‘पार्टीमा नफर्के टर्च बाल्दा पनि नभेटिने स्थिति आउनेछ। उहाँको हालत मोहनविक्रम सिंहको जस्तै हुनेछ।’

 नेकपा एकता केन्द्रका सिंहलाई अध्यक्षमै स्वीकारेको स्मरण गर्दै नेता गजुरेलले भने- ‘तर उहाँले मान्नु भएन र पार्टी छोडेपछि कहाँ पुग्नुभयो थाहा छैन। वैद्यलाई पनि अध्यक्ष पद दिँदा समेत पार्टी फुटाएर जानुभयो।’ सर्लाहीमा वैशाख २१ गते हुने आमसभा र चुनावी रणनीति तयार गर्न बिहीबार हरिवनमा भएको मधेश व्युरो बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गजुरेलले पार्टी र जनताको भावना विपरित वैद्यले पार्टी फुटाएको आरोप समेत लगाए।

एमाले छोडेर एमाओवादीमा आएका नेता रामचन्द्र झालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएर राम्रो पद दिने मधेश व्युरोमा निर्णय भएको उनले बताए। झा सहित दलका नेतालाई प्रदान गरिने पद बाँडफाँडमा सहमति भइसकेको तर सेटिङ्ग गर्न मात्र बाँकी रहेको उनले बताए। मधेश व्युरोको पद बाँडफाँडमा कुनै विवाद नरहेको उनले पत्रकार सम्मेलमा प्रष्ट पारे। सर्लाहीमा गठन भएको जिल्ला समानान्तर कमिटी विवाद पनि चाँडै मिल्ने उनले जनाए। पार्टी विभाजन उद्येश्यले कमिटी गठन नभएको उनले बताए। cp.

कमेन्टहरु
Loading...