साबधान ! तपाईको घर जग्गा पनि बिक्यो की ?

पोखरा, ७ भाद्र / घर जग्गाको लालपूर्जा आफुसंगै छ भनेर तपाइ ढुक्क भएर बस्नु भएको होला तर सावधान ! तपाईको घर–जग्गा अरु कसैको नाममा गईसकेको पनि हुन सक्छ । तपाइ बस्दै आएको घर, तपाइको नाममा भएका जग्गाहरु, अरु कसैले बिक्री गरिगरिदिएको हुन सक्छ ।

पोखराको लेकसाइडमा करिब एक रोपनी जग्गाकी धनी शान्ती राणाको जग्गा उनले थाहै नपाईकन दुई दुई पटक बिक्री भैसकेको छ । अमेरिकामा बस्ने शान्ती हालै पोखरामा आएर जग्गाको हाल साविक गर्न खोज्दा बल्ल उनले आफ्नो जग्गा अर्कैको नाममा पुगिसेको चाल पाईन । त्यसपछि न्यायका लागि शान्ती राणा प्रहरी समक्ष पुगे पछि यो कार्यमा ठुलै गिरोह सकृय भएको आशंका कास्की प्रहरीले गरेको छ । तत्कालै अनुसन्धान थालेको प्रहरीले ८ जनालाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाएको छ ।

अमेरिकामा बस्ने शान्तीको नाममा नक्कली नागरिकता बनाएर एक महिलालाई नक्कली शान्ती बनाएर जग्गाको लालपूर्जा निकालेर बिक्री गरिएको छ । कास्की प्रहरीले नक्कली शान्ती राणालाई पक्राउ गरिसकेको छ । भने जग्गा खरिद गर्ने र मध्यस्थता गर्नेलाई पनि पक्राउ गर्दैछ । ‘तर मुख्य योजनाकार को हो ? पत्ता लागिसकेको छैन ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक सैलेश थापाले भने ।
नुवाकोट जिल्ला ककनी–१ स्थायी घर भै काठमाण्डौंमा बस्ने आशमाया लामालाई नक्कली शान्ती राणा बनाएर जग्गा जिल्ला मालपोत कार्यालय कास्कीबाट लालपूर्जा निकाल्ने र बिक्री गर्ने कार्य सफलतापूर्वक गरिएको छ । प्रहरीले आशमाया र उनकी छोरी सुष्मा लामालाई पक्राउ गरे पनि मुख्य योजनाकार अझै फेला परेको छैन ।
प्रहरी अनुसन्धानका क्रममा नक्कली शान्ती राणाबाट जग्गा किन्ने वविता कार्की, उनका श्रीमान इश्वर कार्की, पूर्व लेखन्दास तथा घर जग्गा कारोबार गर्ने रामचन्द्र भण्डारी, मध्यस्थकर्ताद्वय पिताम्बर भण्डारी र अनिल खनाल तथा पोखरा उपमहानगर पालिकाका वडा सचिव भिमदेव शर्मा पक्राउ परेका छन् । उनीहरुलाई सातसम्म म्याद थप गरेर राखिएको छ ।
आशमायाले शान्ती राणाको नाममा चितवन जिल्लाबाट नागरिकता निकालेकी छिन् । ‘उनको नागरिकता जिल्ला प्रशासन कार्यालयबाटै निकालिएको हो वा नक्कली हो अनुसन्धान हुँदैछ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रविन्द्र पौडेलले भने ।
सोही नागरिकताका आधारमा बनाइएका कागजपत्र प्रयोग गरेर जग्गा बिक्री बितरण गरिएको छ । “देख्दा आशमाया निकै सोझी देखिन्छन, आफ्नो नाम पनि मुश्किलले लेख्छिन ।’ अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक पौडेलले भने–“उनलाई कसले प्रयोग गर्यो ? यो अनुसन्धान हुँदैछ ।’
श्रोतका अनुसार नक्कली शान्ती राणा बने वापत आशमायाले पाँच लाख रुपैया पाएकी थिईन । उनले प्रहरी समक्ष यो स्वीकार गरे पनि उनलाई त्यस्तो कार्य गराउने मुख्य मान्छेको बारेमा बिस्तृत बताएकी छैनन् । यही पत्ता लगाउन कास्की प्रहरी खटिएको छ ।
पक्राउ परेका मध्ये वविता र इश्वर कार्की श्रीमान श्रीमती हुन भने अनिल खनाल राष्ट्रिय बाणिज्य बैंक पृथ्विचोक शाखाका कर्मचारी हुन । नक्कली शान्ती बनेकी आशमायालाई खनाल कै रेष्टुरेन्टमा राखेर छलफल गरिएको प्रहरीले बताएको छ ।
शान्ती राणाका नाममा नक्कली कागजपत्र बनाए पछि सो जग्गा ववितालाई बिक्री गरिएको छ । ७० लाख रुपैयामा वविताले किनेकी छन् । “वविताको नाममा राजस्व कम तिर्नका लागि पास गरिएको देखिन्छ, यसमा इश्वर, पिताम्बर र अनिल साझेदार देखिन्छन् ।’ प्रहरी श्रोतले भन्यो ।
त्यस लगत्तै सो जग्गा निर्मल गौतम र चन्द्रबहादुर गुरुङ्गलाई बिक्री गरिएको छ । उनीहरुले एक करोड २५ रुपैयामा जग्गा खरिद गरेका छन् । जग्गा सक्कली शान्ती राणाको फर्के पछि उनीहरुको लगानी पनि धरापमा पर्नेछ ।
नक्कली कागज पत्र बनाएर बिक्री गर्ने कार्यमा ठुलै गिरोह नै संलग्न भएको आशंका कास्की प्रहरीले गरेको छ । पक्राउ परेकाहरु संग बयान लिने कार्य जारी छ । शान्तमाया बाहेक पक्राउ परेका अन्यले आफूहरु निर्दोष भएको बताइरहेका छन् । “ठुलै गन्जागोल छ ।’ एसपी थापाले भने ।
नक्कली नागरिकताका आधारमा सो जग्गा शान्ती राणा कै हो भनि सर्जिमिन मुचुल्का बनाएको अभियोगमा पोउमनपाका तत्कालिन वडा सचिव भिमदेव शर्मा पक्राउ परेका छन् । सचिव भिमदेवले आफु निर्दोष भएको दावी गरेका छन् । चितवन जिल्ला प्रशासनको कार्यालयबाट जारी भएको नागरिकता र मान्छे आफै उपस्थित भए पछि आफुले मुचुल्का बनाइएको उनको दावी छ । नागरिकता, स्थानीय मुचुल्काका र जिल्ला मालपोत कार्यालयको पत्रका आधारमा पोखरा उपमहानगर पालिकाले फोटो सहितको लालपूर्जा दिन सिफारिस गरेको छ । नक्कली शान्ती राणाले पूरानो लालपूर्जा हराएकाले नयाँ निकाल्नका लागि निवेदन दिए पछि यी सब प्रकृया पुरा गरिएको छ ।
“मान्छे अमेरिकामा भएको थाहा पाएर नयाँ लालपूर्जा निकाल्न यो सब गरिएको छ, लालपूर्जा निकाले कै दिन जग्गा बिक्री पनि गरिएको छ ।’ कास्की प्रहरीले भनेको छ । पक्राउ परेकी आशमायाले मालपोत कार्यालयमा फटाफट काम भएको बयान दिएकाले पनि मालपोतको संलग्नता भएको आशंका प्रहरीले गरेको छ ।
८ जनालाई पक्राउ गरेपछि प्रहरीको ध्यान गिरोहमा संलग्न अरुको पनि खोजी गर्ने तर्फ लागेको छ । मालपोतका कर्मचारीको पनि मिलेमतो हुन सक्ने आशंका प्रहरीले गरेको छ । “यो पुरानो लालपूर्जा हो, मान्छे अमेरिका छ आदी सबै बुझेको मान्छेले गरेको देखिन्छ ।’ प्रहरीले भन्यो ।
चितवन घर भई अमेरिकामा बस्दै आएकी शान्ती राणाकोे पोखरा ६ बैदाम रहेको १४ आना १ पैसा क्षेत्रफलको जग्गा उनी पोखरा आएर खोजबिन नगरेको भए यो घटना अझै सार्बजनिक हुने थिएन । राणालाई उक्त जग्गा माइतीले दिएका थिए ।
पोखरामा एक पछि एक किर्ते कारोबार सार्बजनिक भैरहेको छन् । यस्ता घटना बढ्दै जानुले किर्ते गर्नेहरु कम हुने भन्दा बढ्दै गएकाले सरकारी कार्यालयलाई चुनौति बढेको छ ।

साभार ः सामाधान राष्ट्रिय दैनिक

कमेन्टहरु
Loading...