सरकारको राहत प्याकेजः इन्टरनेट डाटा देखि विद्यालय शुल्कसम्म छुटैछुट

फाइल तस्बिर

काठमाडौं, १७ चैत / आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । बैठकले इन्टरनेटको डाटामा छुट देखी निजी स्कुलको शुल्क सम्मको राहत प्याकेज ल्याएको हो ।

सरकारले मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । विद्युत, खानेपानी, टेलिफोन शुल्क फाल्गुन र चैत महिनाको महसुल भुक्तानी वैशाख मसान्तसम्म बुझाएमा विलम्ब भुक्तानी वा जरिवाना लाग्नेछैन ।

दुरसञ्चार कम्पनीले लकडाउन अवधिमा इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिनेछ भने निजी सेवा प्रदायकले पनि यस्तो छुट दिनुपर्नेछ । यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले चामल, पिठो, दाल, तेल, चीन लगायतका खाद्य वस्तुको खरिदमा हालको मूल्यमा १० प्रतिशत छुट दिइने भएको छ ।

यसैगरी, सवारी चालकको लाइसेन्स, सवारी नविकरण, रुट परमिट लगायत नवीकरण गर्ने समय पनि बैशाख मसान्तसम्म थप गरिएको छ । यो अवधिमा कुनै विलम्ब शुल्क नलिने सरकारले जनाएको छ ।
माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवास बाहेक अरु छुट दिनुपर्ने उल्लेख गरेको छ । शहरी क्षेत्रका असंगठित श्रमिकहरुको एक महिनाको घरभाडा छुट दिन घरबेटीहरुलाई सरकारले औपचारिक रुपमै आग्रह गरेको छ ।

पूर्णरुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पूरै तलब दिनुपर्नेछ । व्यवसाय सञ्चालन नभएसम्मका लागि रोजगारदाताहरुले श्रमिकलाई ज्याला भुक्तानी गर्न प्रतिष्ठान स्तरको कल्याणकारी कोषको रकम उपयोग गर्न सक्नेछन् भने सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम भने सरकारले व्यहोर्नेछ ।

सरकारी, निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपकरणहरु आयात गर्दा भन्सार छुट पाउने भएका छन् । सरकारले टीटीको सीमालाई ३० हजारबाट बढाएर एक लाख डलर र्पुयाइएको छ । यस्तै, निजी स्वास्थ्य संस्थाहरुको चैत महिनाको सेवा शुल्कमा २० प्रतिशतसम्म छुट दिने सरकारले घोषणा गरेको राहत प्याकेजमा उल्लेख छ ।

निर्णयहरुः
१ निजि विद्यालय शुल्क छुट
२ घरभाडा छुट (अनुरोध)
३ दैनिक ज्यालादारी गर्ने मजदुर लाई राहत
४ विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने ।
५ मदिरा आयातमा रोक ।
६ सुनको आयतमा कटौती ।
७ महङ्गो गाडी आयतमा रोक ।
८ लक्डाउन जारी ।
९ विद्युत महसुल र खाद्यान्नमा छुट ।
१० स्वास्थकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा ।
११ ईन्टरनेट शुल्क २५ प्रतिशत छुट आदी

कमेन्टहरु
Loading...