पोखरा, ४ असार / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रमाणीकरण गरेकी छन् ।
बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम कालापानी लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् ।
योसँगै नेपालको संविधानमा लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ । बिहीबार मात्र नक्सा सम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्व सम्मतिले पारित भएको थियो । त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित भएको सूचना प्रतिनिधिसभा जानकारी गराएको थियो ।
प्रतिनिधिसभाले राष्ट्रियसभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभामुख अग्नि सापकोटाबाट प्रमाणित गराएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।
विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते र राष्ट्रियसभाबाट बिहीबार पारित भएको थियो । सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।