कार्यवाहक सभापति पौडेल र बेलायती निर्देशक जिलेज थोम्सनबीच

काठमाडौं, २३ साउन । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र बेलायतका दक्षिण एशियाली मामिला हेर्ने फरेन एण्ड कमनवेल्थ ( विदेश तथा राष्ट्रमण्डल ) कार्यालयका निर्देशक जिलेज थोम्सनबीच आज विहान पौडेल निवास बोहोराटारमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
सो भेटवार्तामा नेपालका लागि वेलायती राजदुत एन्डु्र जेम्स पनि सहभागी हुनुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
कार्यवाहक सभापति पौडेल निवास बोहोराटारमा भएको सो भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान सभा निर्वाचनको लागि भैरहेको तयारी, राजनीतिक दलहरुबीच राजनीतिक सङकट निकासका लागि जारी वार्ता प्रक्रिया र निर्वाचनका बारेमा अन्तराष्ट्रिय समुदायको सहयोगका बारेमा छलफल भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा निर्देशक थोम्सनले मङसीरको लागि तय भएको संविधान सभाको निर्वाचनको तयारी के कस्तो छ र निर्वाचनमा सबै दललाई सहभागी गराउने बारेमा दलहरुबीचको वार्ता प्रक्रियामा कस्तो प्रगति भैरहेको छ भन्ने चासो राख्नुभएको थियो । उहाँले निर्धारीत समयमै निर्वाचन हुनुपर्ने र त्यसमा अन्तराष्ट्रिय समुदाय पनि सहयोगका लागि तयार भएको धारणा राख्नुभएको कार्यवाहक सभापति पौडेलले जानकारी दिनुभयो ।
कार्यवाहक सभापति पौडेलले पनि मङसीर चारमै निर्वाचन गर्ने गरी निर्वाचनमा असन्तुष्ट दलहरुसँगको वार्ता प्रक्रियालाई पनि घनिभूत बनाइएको जानकारी दिदै निष्पक्ष रुपमा निर्वाचन गर्न असन्तुष्ट दलहरुसँग भैरहेको वार्ता फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...