‘कामरेड’ बनिन् रेखा थापा !

४ जेठ, काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्नुभएको छ । शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य उर्मिला अर्यालसँगै प्रचण्डका हातबाट टीको लगाएर एमाओवादीका प्रवेश गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रचण्डले नायिका थापा र अर्याल दुबैलाई क्षमताअनुसारको जिम्मेवारी दिइने बताउनुभएको छ ।

वैद्य र बादलले रेखासँग नाच्न लगाए : प्रचण्ड

केहीवर्षअघि काठमाडौंमा आयोजित सडक आन्दोलनमा रेखा थापासँगै नाच्नुभएका प्रचण्डले पार्टी प्रवेश कार्यक्रममा सो घटनालाईसमेत कोट्याउनुभएको छ । रेखाले नाच्न बोलाएपछि आफूले वैद्य र बादललाई सोधेको र उहाँहरुले नाच्न भनेपछि आफूले थापासँग नाचेको प्रचण्डले बताउनुभयो ।

घर फर्केको अनुभव भयो : अर्याल

पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य उर्मिला अर्यालले आफूलाई पुरानो घर फर्केको अनुभव भैरहेको बताउनुभयो । अर्याल ०४६ सालअघिसम्म प्रचण्डकै पार्टीमा हुनुहुन्थ्यो । उहाँ तत्कालीन अनेमसंघको केन्द्रीय अध्यक्षसमेत हुनुहुनथ्यो । पर्सा निवासी अर्याल झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्रीसमेत हुनुहुन्थ्यो ।

r2

मेरो रगतमा राजनीति छ : नायिका थापा

कार्यक्रममा रेखा थापाले आफ्नो पूर्खाको रगतमा राजनीतिक रहेको बताउनुभयो । साथै उहाँले एमाओवादी पार्टी गरिबको पक्षधर भएकाले आफू त्यसमा आवद्ध भएको बताउनुभयो । थापाको भनाइलाई पुष्टि गर्दै प्रचण्डले नायिका थापा शहीद क्याप्टेन यज्ञबहादुर थापाकी नातिनी भएको बताउनुभयो ।

एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको सडक आन्दोलनका बेला प्रचण्डसँग नाचेकी थापालाई सोही घटनादेखि एमाओवादी निकट कलाकार मानिँदै आएको थियो । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला कलाकारले गरेको सरकारविरोधी आन्दोलनमा रेखाको सहभागिता थिएन । थापाले आफूलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन प्रचण्ड र बाबुरामसँग लविङ गर्दै आउनुभए पनि उहाँलाई बोर्डमा ल्याइएको थिएन ।

– See more at: http://www.onlinekhabar.com/2013/05/72002/#sthash.3CiSW7FH.dpuf

कमेन्टहरु
Loading...