राष्ट्रिय बाल प्रतिभा सम्मान शेर्पालाई

फागुन ४, पोखरा/कुमुदिनी होम्स उच्च मावि पोखराद्वारा सञ्चालित ‘राष्ट्रिय बाल प्रतिभा पुरस्कार–२०६९’ शुक्रबार प्रदान गरिएको छ । १६ वर्षभन्दा कम उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने सोलुखुम्बुकी निमा छ्याम्जी शेर्पालाई सो पुरस्कार प्रदान गरिएको हो । शेर्पालाई राष्ट्रिय पर्वतारोहण संघका सचिव दिवसविक्रम शाहले सम्मान गरेका हुन् । साहित्यकार सरुभक्त संस्थापक रहेको पुरस्कार २०५६ सालमा स्थापना गरिएको हो । पुरकास्कारलाई पोखराको कुमुदिनी होम्स उच्च माविले सञ्चालन गरेको छ । साहित्यार सरुभक्तले कुमुदिनी कला साहित्य पुरस्कार वापत प्राप्त २० हजार रुपैयाँमा ३० हजार थप गरी सो पुरस्कार स्थापना गरेका हुन् । सोही रकममा कुमुदिनी होम्स उमाविले ५० हजार थप गरी पुरस्कार सञ्चालन तथा वितरण गर्दै आइरहेको सदस्य सचिव अशोक पालिखेले बताए ।

कुनैपनि क्षेत्रमा विलक्षण प्रतिभा देखाएर राष्ट्रमा योगदान दिने बालबालिकालाई सो सम्मानबाट पुरस्कृत गरिन्छ । साहित्य, कला, संगीत, विज्ञान, खेलकुद, शिक्षा तथा पर्वतारोहण लगाएत क्षेत्रमा प्रतिभावान १६ वर्ष भन्दा मुनिका बालबालिकालाई नगद रु १५ हजार सहित सम्मान गरिने पालिखेले जानकारी दिए । पुरस्कार सञ्चालनका लागि शिक्षाविद जोर्ज जोनको अध्यक्षतामा दुर्गा बराल, हरिदेवी कोइराला, तीर्थ श्रेष्ठ, आनन्द श्रेष्ठ, महेन्द्र श्रेष्ठ, र कुमुदिनी होम्स उमाविका ब्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखे सदस्य सचिव रहेको समिति गठन गरिएको छ ।

शेर्पाले १६ वर्ष भन्दा कम उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर संसारमा नेपाललाई चिनाउन सफल भएकाले सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार प्रदान गर्दै शाहले नेपालको पर्यटन क्षेत्रमा बालप्रतिभा शेर्पाको योगदान महत्वपूर्ण भएको बताए । सानो उमेरमा सगरमाथा आरोहण गर्न शाहस गर्ने शेर्पाले सगरमाथाको शीरलाई अझ उच्च बनाएको शाहको भनाइ छ । कार्यक्रममा पुरस्कारका संस्थापक तथा साहित्यकार सरुभक्तले बालप्रतिभाहरुलाई राज्यले पनि सम्मान गर्नुपर्ने बताए । सम्मानित प्रतिभा शेर्पाले आफूले ठूलो शाहस लिएर सगरमाथाको सफल आरोहण गरेको बताइन् ।

सम्मानको श्रेय आफ्ना बावुआमालाई दिदै उनले शाहस र दृढ विश्वासका साथ अगाडि बढे सफलता प्राप्त गर्न सकिने भनाइ राखिन् । पुरस्कार प्राप्त गर्दा निकै हर्षित देखिएको शेर्पाले पुरस्कारले जीवनमा थप प्रेरणा प्रदान गरेको बताइन् । शिक्षा विद् जर्जजोनको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा सदस्य सचिव अशोक पालिखे, पर्यटन व्यवसायी वासु त्रिपाठी, पुरस्कार छनोट समितिका सचिव आनन्द श्रेष्ठ, नेपाल पर्वतारोहण संघ अन्नपूर्ण च्याप्टरका अध्यक्ष खड्ग राना लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...