विकास माग्न पोखरेली प्रतिनिधीमण्डल मन्त्रालयमा

पोखरा,१७ वैशाख / बजेट निर्माणको पूर्वसन्ध्यामा समग्र कास्कीको विकासका मुद्धाहरु लिएर निजी क्षेत्रसँग सम्बद्ध संघ÷ संस्थाका प्रतिनिधी सहितको टोली राजधानी पुगेको छ । राजधानी पुगेको टोलीले मंगलबारदेखि नै विभिन्न मन्त्रालयहरु पुगी कास्कीका आवश्यकताहरु संवोधनको लागि मन्त्री तथा सचिवहरुसँग आग्रह गरेको छ । पोखरा उद्योग बाणिज्य संघ, लेखनाथ उद्योग बाणिज्य संघ तथा पोखरा पर्यटन परीषदको संयुक्त टोलीले मंगलबार स्थानीय विकास मन्त्री ,भौतिक योजनामन्त्री एवं बन मन्त्रालयका सचिवसँग भेटघाट गरेको हो ।

भेटका अवसरमा भौतिक योजना, निर्माण तथा यातायात मन्त्री छविराज पन्तले कोत्रेबाट हेम्जासम्म छ लेनको बाटो तथा बाइपास निर्माणको लागि सकारात्मक पहल गर्ने आश्वासन दिएका छन् । पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी सेरचन राजमार्गको स्तरोन्नति, अब्यवस्थित सहरीकरणले अस्तब्यस्त हुन लागेको पोखरालाई जोगाउन पोखरा विकासको गुरुयोजना सहित काम गर्न पनि मन्त्री सकारात्मक भएको भ्रमणदलमा संलग्न पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिए ।

यसैगरी पोखराको खानेपानी, ढल निकास, सुविधा सम्पन्न रंगशाला, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको लागि बजेट विनियोजनको आश्वासन दिएको कोइरालाले जनाए । प्रतिनिधीमण्डलले संघिय मामिला तथा स्थानिय विकास मन्त्री विद्याधर मल्लिकसँगको भेटमा पनि कास्कीमा रिङ्रोड, खानेपानी समस्याको निराकरण, नगरपालिका सुदृढिकरण, पोखरा सभागृहको निर्माण, दमकलको आवश्यकताबारे जानकारी गराएको थियो । मन्त्री मल्लिकले दमकल खरिदको लागि पोखरा उद्योग बाणिज्य संघले प्रत्येक वर्ष आयोजना हुने औद्योगिक ब्यापार मेलाबाट रकम छुट्याएकोमा खुुसी व्यक्त गर्दै दलकलको लागि रकम विनियोजन गर्ने आश्वासन दिए ।

फेवातालको संरक्षण, ग्रामिण सडकहरुको स्तरोन्नतिप्रति पनि मन्त्रालय गम्भीर रहेको उनको भनाई थियो
त्यसैगरी बन मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले रत्नमन्दिरलाई जैविक विविधतासहितको पार्क बनाउन मन्त्रालयले काम थालेको जानकारी दिँदै रानीबनबाट पञ्चासेसम्मको क्षेत्रको विकासको अभियान पनि यसै वर्ष थालिने आश्वासन दिएका छन् । कोत्रेबाट पोखरासम्मको जुनसुकै ठाउँमा जग्गा उपलब्ध हुनासाथ चिडियाखाना बनाउन मन्त्रालय तयार रहेको उनले बताए । फेवाताल र बेगनास सहितका तालहरुलाई सिमसार क्षेत्र घोषणा गर्ने र ति तालको किनारामा साइकल ट्रयाक बनाउने मन्त्रालयको योजना रहेको उनको भनाई थियो ।

प्रतिनिधी मण्डलमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइराला, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष सुमनमोहन भट्टराई, पोखरा पर्यटन परीषदका अध्यक्ष सूर्यबहादुृर भुजेल, नाटाका अध्यक्ष केदार शर्मा, पोखरा उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष ईश्वरप्रसाद कर्मचार्य, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव बाबुराम गिरी, कोषाध्यक्ष बलराम ढकाल र पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य एवं नाटाका उपाध्यक्ष पोमनारायण श्रेष्ठ सहभागी भएका छन् ।

प्रतिनिधीमण्डले बुधबार अर्थमन्त्रीलाई भेट्ने छ । प्रतिनिधीमण्डले पोखरामा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहणको लागि रकम विनियोजन, कोत्रेबाट हेम्जा फेदीसम्म ५ लेनको बाटो र कास्कीमा रहेका तालहरुको संरक्षणलाई आगामी बजेटमा रकम विनियोजनको लागि विशेष जोड दिने छ ।

कमेन्टहरु
Loading...