पोखरामा मनसुन कप टेनिस सेमिफाइनल चरणमा

पोखरा, २३ साउन / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी मनसुन कप भेट्रान्स डबल टेनिस प्रतियोगिता सेमिफाइनल चरणमा पुगेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको क्वाटरफाइनल खेलमा गत महिना सम्पन्न भेट्रान्स डबल्सका बिजेता गोपीबहादुर भट्टराई र शरण गुरुङ्ग पराजित हुन पुगे । यो जोडीलाई निरज थापा र नविन श्रेष्ठको जोडीले २–१ सेटमा पराजित गरेको हो ।

पहिलो सेट भट्टराई जोडीले ६–२ ले आफ्नों पक्षमा पारेर पुरानै दवदवा कायम गर्न खोजेपनि दोश्रो र तेश्रो सेटको खेल ६–३ र ६–४ ले गुमाएपछि भट्टराई जोडी यसपटक क्वाटरफाइनलमै सिमित हुन प¥यो । भट्टराई र शरणको जोडीले अघिल्लो भेट्रान्स प्रतियोगिताको उपाधी जित्दा धरम लामिछाने र नविन चालिसेको जोडीले दोश्रो स्थान हाँसिल गरेको थियो ।

त्यसैगरि लोक गुरुङ्ग र राजन पौडेलको जोडीले विनोद कायस्थ र मनु त्रिपाठीको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ४–६, ६–४ र ६–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए भने नविन चालिसे र राजु गुरुङ्गको जोडीले हङकङका विकास गुरुङ्ग र कृष्ण थापाको जोडीलाई ४–६ र ५–४ रिटायर्ड हर्टमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाए ।

त्यसैगरि विकास गुरुङ्ग पोखरा र धरमबहादुर लामिछानेको जोडीले समिर शेरचन र अनिल तुलाचनको जोडीलाई २–६, ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनल बनाए ।

कमेन्टहरु
Loading...