बसपार्कका सुकुम्बासी हटाउने निर्णयको विरोध, ‘उचित व्यवस्थापन विना जग्गा खाली नगर्ने’

पोखरा, २५ पुस /प्रस्तावित पोखरा बसपार्क क्षेत्रको जग्गा खाली गर्न पोखरा उपत्यका नगर विकास समितिले प्रकाशित गरेको सुचनाको सुकुम्बासीहरुले विरोध गरेका छन् । समितिको हालै बसेको बैठकले निर्णय गरी पोखरा–९ पृथ्वीचोकका सुकुम्बासीहरुलाई जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम सहितको सूचना यहि पुस २५ गते जारी गरेको थियो । उक्त म्यादभित्र घरटहरा नहटाइए नगर विकास ऐन, २०४५ हटाइने र त्यसरी हटाउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुर उपर गरिने प्रकाशित सूचनामा जानकारी गराइएको छ ।बिहीबार अखिल नेपाल सुकुम्बासी संघ, कास्कीले प्रेस विज्ञप्ती प्रकाशित गरी निर्णयको भत्र्सना गरेको छ । मिनि बसपार्क बनाउने बहानामा क्षतिपुर्ति र उचित व्यवस्थापन विना सुकुम्बासी हटाउने निर्णय निन्दनीय रहेको संघले जनाएको छ । संघका अध्यक्ष हर्कबहादुर विश्वकर्माले बसपार्क बनाउने कार्यको विरोधी आफुहरु नभएपनि सुकुम्बासीहरुको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँले सुकुम्बासीहरुलाई जबर्जस्ती हटाउन खोजिए सम्पूर्ण सुकुम्बासीहरु प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

काँग्रेस, एमाले र राप्रपाका प्रतिनिधिको बैठक बसेर गरिएको निर्णय आफुहरुलाई मान्य नहुने बताउँदै अध्यक्ष विश्वकर्माले प्रतिकारबाट सृजना हुने कुनै घटनाको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने बताउनुभयो । ‘राज्यकै संयन्त्रले सुकुम्बासी भनेर परिचयपत्र बाडिसकेको अवस्थामा अतिक्रमण गरिएको भनेर हटाउन मिल्दैन’–उहाँले भन्नुभयो । अध्यक्ष विश्वकर्माले सुकुम्बासीहरुले बसपार्क निर्माणमा अवरोध पु¥याएको भए सबैभन्दा पहिला समितिले निर्माण गरेका सटरहरु भत्काउनुपर्ने सुझाव दिनुभयो ।

यसैबीच, एकीकृत माओवादी वडा न. का अध्यक्ष बमबहादुर कार्कीले पनि बिहीबार नै विज्ञप्ती जारी गरी नगर विकास समितिको कदमको विरोध गर्नुभएको छ । विज्ञप्तीमा सरोकारवाला निकायमा छलफल बेगर कुनै उपयुक्त विकल्प नखोजी रातारात सूचना टाँस गरी बलपूर्वक जग्गा खाली गर्ने समितिको मनसाय प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । एकीकृत माओवादी विकास विरोधी नभएको र उक्त ठाउँमा बसपार्क निर्माण हुनुपर्छ भन्ने धारणा भएपनि गरिब, भुमिहिन सुकुम्बासीहरुको न्यायोचित ठाउँमा व्यवस्थापन हुनुपर्दछ भन्ने मान्यतालाई पनि आत्मसात गर्न अपिल गरिएको छ । ‘यसलाई कमजोरीका रुपमा लिएमा हामी गम्भिर कदम चाल्न बाध्य हुनेछौं’–विज्ञप्तीमा भनिएको छ ।

२०५२ सालदेखि बसपार्क वरपरको क्षेत्रमा भुमिहिन सुकुम्बासीहरु बस्दै आएका हुन् । पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहण गर्ने भनिएको कृष्णटोल, गणतन्त्र टोल, शिव टोल, पार्वती टोल र शुभकामना टोलमा करिब ५०० घर सुकुम्बासी बसोबास गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...