विमानस्थल निर्माणमा दवाव दिन फेरी आन्दोलन घोषणा गण्डकी र धौलागिरीका सरकारी कार्यालय ठप्प पारिने

पोखरा, २७ भदौ / पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पुरागरी काम थाल्नको लागि सरकारले मागेको समयसीमा सकिन दुई दिन बाँकी रहदाँे थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । भदौ २८ अर्थात बिहिबार भित्र सम्पूर्ण प्रक्रिया पुरा गरी नयाँ सम्झौता गर्नतर्फ सरकारले तत्परता नदेखाएको भन्दै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले रिले अनसनदेखि गण्डकी र धौलागिरीका सरकारी कार्यालय ठप्प पार्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नेको लागि गत भदौ १४ गते १५ दिनको समय मागेपछि विमानस्थल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन स्थगित गरिएको थियो । ऋणदाता चिनको एक्जिम बैंकले सेप्टेम्बर २० भित्र सम्झौत गर्न भनेकोले पनि सो अवधी भित्र नै प्रक्रिया पुरा गराउन दवाव दिन सरोकार समितिले असोज ३ गतेसम्म आन्दोलनका कार्यक्रम तय गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार भदौ २८ गेत राती ९ बजेदेखि पहिला स्थगन गरिएको स्थान, समय र सोही समुहबाट नै रिले अनसनलाई निरन्तरता दिने र भदौ ३० गते पोखरा विमानस्थलमा धर्ना दिने कार्यक्रम राखिएको छ ।माग सुनवाई नभए भदौ ३१ गतेदेखि गण्डकी र धौलागिरी सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान, एवम सरकारी कार्यालयमा अनिश्चितकालको लागि कामकाज ठप्पपार्ने र ती कार्यालयका सवारी साधानलाई पनि गुड्न नदिने समितिका सदस्य बासु त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षा निकाय, अस्पताल, जिल्ला प्रशासन, अदालत, बैंक तथा वित्तिय संस्थाहरुमा भने अवरोध गरिने छैन । समितिले असोज २ गते जिल्ला प्रशासन र ३ गते क्षेत्रीय प्रशासन कार्यालयमा काम ठप्प पार्ने कार्यक्रम पनि तय गरेको हो । समितिले आन्दोलनका कार्यक्रमलाई सफल बनाउन प्रत्येक दिन पोखराको पृथ्वीचोक, सहिदचोक र विमानस्थल गेटमा जम्मा भई धर्ना कार्यक्रमलाई शसक्त बनाईने अर्का सदस्य आनन्दराज मुल्मीले जानकारी दिनुभयो । सरकारी कार्यालयमा काम काज ठप्प पार्नको लागि साढे ९ बजे नै कार्यालय गेटमा धर्ना दिएर कर्मचारीलाई छिर्न नदिने र यदी कसैले अटेर गरेमा कार्यलयमा तालाबन्दी समेत गर्ने चेतावनी समेत समितिले दिएको छ ।

समितिले विमानस्थल निर्माणको एक सुत्रीय माग पुरा नभए आम सहमतिमा अझै कडा आन्दोलनको घोषणा समेत गर्ने मिडिया संयोजक विप्लव पौडेलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मिडिया डेस्क व्यवस्थापन समितिका संयोजक त्रिभुवन पौडेलले पनि बोल्नु भएको थियो । पत्रकार सम्मेलनमा सरकारले अहिलेसम्म विमानस्थलमा निर्माणको प्रक्रियामा भएको प्रगतिमा बारेमा समितिलाई कुनै जानकारी नगराएकोले पनि आन्दोलन कार्यक्रम घोषणा गर्न बाध्य भएको जानकारी गराईएको थियो । २०३२ सालमा पोखराको छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको भएपनि अहिलेसम्म नबनेपछि पोखरेली आन्दोलित भएका हुन् ।

कमेन्टहरु
Loading...