पत्रकारहरुद्धारा प्रधानमन्त्री घेराउ, दोषिमाथि कारवाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौ, १ माघ । पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कानून अनुसार कारवाहीको माग गर्दै पत्रकारहरुले आज पनि आफ्नो आन्दोलनलाई जारी राखेका छ । यसक्रममा आज पत्रकारहरुले अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार घेराउसँगै धर्ना दिएका थिए । नेपाल पत्रकार महासंघ काठमाडौको अगुवाईमा भएको धर्ना र घेराउ गर्दै पत्रकारहरुले पत्रकार हत्याका दोषिमाथि कारवाही नभएसम्म आन्दोलनलाई जारी राख्ने घोषणा गरे । सोक्रममा नेपाल बार एसोसीएसनका महासचिव विजय मिश्रले नेपाल बार एसोसीएसन पत्रकार हत्याका दोषि माथि कारवाही गराउन नेपाल बार एसोसीएसन ले कानूनी मोर्चा सम्हाल्ने प्रबिद्धता ब्यक्त गर्दै कारवाही गराएर छाड्ने बताए ।
उनले दोषिको बयान सुचारु गर्न र पीडितको न्यायको लागि बार एसोसीएसनले पहल कदमी लिईसकेको जानकारी समेत दिए । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यसोदा तिम्सिनाले पत्रकार हत्याका दोषिलाई कारवाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिदै महासंघले भोली थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिईन । दैलेख गएको मिसन टोलीले समेत भोली नै छानविन प्रतिवेदन जारी गर्ने समेत उनले जानकारी दिईन ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पत्रकार डेकेन्द्र थापा र कृष्णसेन ईच्छुक मात्रै नभई सबै घटनाका हत्यारालाई कारवाही हुनु पर्ने भन्दै प्रधानमन्त्रीलाई अनुसन्धान नरोकी कानूनी प्रक्रियाद्धारा अघि बढ्न सुझाव दिए । उनले डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन ९५ प्रतिसत पत्रकारहरुले लविङ गरेको स्मरण गराउँदै प्रेस स्वतन्त्राको ब्यवहारमा सम्मान गर्न सुझाव दिए ।
उनले प्रेस स्वतन्त्रालाई छेक्नु भन्दा पहिला त्यस्तै प्रयास गर्दा ज्ञानेन्द्रको के हालत भयो भनेर नियाल्न आग्रह गरे । घेराउ कार्यक्रममा पूर्व सभापति हरि लम्साल, दामोदर दवाडी, केन्द्रीय सदस्य दिपक पाण्डे,  प्रेस चौतारीबाट रामहरी सिल्वाल र काठमाडौ शाखका सभापति गोविन्द चौलागाईले  दोषिमाथि कारवाही नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे ।

कमेन्टहरु
Loading...