पोउबा संघको भ्रमण टोली पोखरा फिर्ता

पोखरा, ५ जेठ/सरकारपछि सबैभन्दा ठूलो राष्ट्रिय संजाल रहेको दावी गर्ने नेपाल उद्योग बाणिज्य महासंघले जिल्ला तथा नगर उद्योग बाणिज्य संघको भावना नसमेटेको भन्दै जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुले गुनासो व्यक्त गरेका छन् । महासंघ बलियो हुन जिल्ला तथा नगर उद्योग बाणिज्य संघ बलियो हुनुपर्छ भन्ने मान्यता बोक्ने पोखरा उद्योग बाणिज्य संघको प्रतिनिधीमण्डलले हालै सम्पन्न गरेको जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको क्रममा यो गुनासो बाहिर आएको हो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाका अनुसार भ्रमणको क्रममा अधिकांश जिल्ला तथा नगर उद्योग बाणिज्य संघकमा अध्यक्ष एवं पदाधिकारीहरुले महासंघले बस्तुगत तथा एसोसियट सदस्यहरुलाई भकाभक सदस्यता बाँढेर जिल्ला तथा नगर उद्योग बाणिज्य संघको भूमिकाको अवमूल्यन गरेको गुनासो गरेका थिए । जिल्ला तथा नगर उद्योग बाणिज्य संघले उठाएका गुनासाहरुलाई भ्रमणकै क्रममा नेपाल उद्योग बाणिज्य महासंघमा भएको छलफल कार्यक्रममा राखिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

सो अवसरमा महासंघकी जिल्ला नगरतर्फकी उपाध्यक्ष भवानी राणाले महासंघले जिल्ला तथा नगर उद्योग बाणिज्य संघको भावनाको कदर गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । वैशाख ३१ गते भ्रमणमा निस्केको पोखरा उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलले दोलखा, सिन्धुपाल्चोक, धुलिखेल, काभ्रे, भक्तपुर, ललितपुर, नुवाकोट, रसुवा, धादिङ उद्योग बाणिज्य संघको साथै पनौति पर्यटन विकास केन्द्र तथा तिब्बतको ब्यापारिक नाका खासा एवं केरुङ नाकाको पनि अवलोकन भ्रमण गरेको थियो ।

संघको टोली जेठ ४ गते पोखरा पर्किएको र भ्रमण फलदायी भएको भ्रमण संयोजक तथा संघका द्धितीय उपाध्यक्ष ईश्वर कर्माचार्यले बताए । संघका महासचिव नारायण कोइरालाका अनुसार अधिकाशं जिल्ला तथा नगर उद्योग बाणिज्य संघसँग भएको छलफलमा सार्वजनिक नीजि साझेदारी कार्यक्रम, पर्यटन प्रवद्र्धन एवं कृषिको आधुनिकीकरण, ब्यवसाय करको समस्या लगायतका विषयमा छलफल भएको थियो । भ्रमणको क्रममा स्थानीय उत्पादनको प्रवद्र्धनको लागि धेरैजसो उद्योग बाणिज्य संघको पहलमा कोशेली घरको निर्माण गरेको उल्लेख गर्दै उनले सो अवधारणालाई पोखराले सकारात्मक रुपमा लिएको उल्लेख गरे ।

कमेन्टहरु
Loading...