अन्तिम दिन ¥याण्डममा ‘वर्सादी दिनहरु’

पोखरा, ३१ चैत्र /¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालमा वर्सादी दिनहरुको परिचर्चा गरिएको छ । सोसाइटीले नियमित पुस्तक परिचर्चाको २८ औं शृङ्खलामा प्रकाश सायमीको कृति वर्सादी दिनहरुको परिचर्चा गर्दै वर्षलाई विदाइ र नयाँ वर्ष २०७० लाई स्वागत गरेको छ । कृतिका विषयमा अवधारणपत्र प्रस्तुत गर्दै सोसाइटीका अध्यक्ष एवम् साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ले बहुआयामिक व्यक्तित्व प्रकाश सायमीको वर्सादी दिनहरु एक ज्ञानको भण्डारले भरिएको कृति भएको बताए । ‘लिभिङ इन्साइक्लोपेडिया’रुपमा परिचित सायमीको कृतिमा विभिन्न घटना र परिवेशमा आधारित निसंस्मरणहरु समेटिएका छन् । कार्यक्रममा लेखक सायमीले पढेका कुराले कसैको पनि अहित नहुने भन्दै कम्तिमा पनि लेखकहरु इमानदार हुनुपर्ने र त्यसका लागि आफूले प्रयास गरेको बताए । उनले नेपाली साहित्यका सही पुस्तक सही पाठकसम्म पुग्न नसकेको भन्दै अध्ययन संस्कृतिले जीवनलाई सुखमय बनाउने बताए ।

स्रष्टा परिचयअन्तरगत धरानका साहित्यकार बद्रि पलिखेको परिचय दिँदै युवा साहित्यकार दीपक पराजुलीले पलिखेलाई एक इमानदार र सङ्घर्षशील कविका रुपमा चिनाए । कार्यक्रम तथा सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’ले अध्ययन संस्कृतिलाई जीवन्तता दिनु आफैमा एक कठिन कार्य भए पनि सामाजिक जीवनका लागि योगदान दिने उद्देश्यले सोसाइटीले निरन्तर कार्य गरिरहेको बताए ।

सोसाइटीका सचिव गनेस पौडलले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष रामजी पौडेलले आगामी वैशाख २८ गते सरुभक्तको शुन्यवादी दर्शनका बारेमा सचिव गनेस पौडेलले परिचर्चा गर्नुहुने जानकारी दिए  । कार्यक्रममा प्रा. डा. पशुपतिनाथ तिमिल्सिना, रघुनाथ अधिकारी, दीपक पराजुली, अनुज कुलुङ, दिपेन्द्र श्रेष्ठ, लक्ष्मी पहारी घिमिरे, सुवास पौडेल, राजेन्द्र चापागाईंलगायतले टिप्पणी गरे ।

कमेन्टहरु
Loading...