मुद्रण व्यवसायी र मजदुर बीच सहमति, आन्दोलन फिर्ता

पोखरा, २४ फागुन/मुद्रण उद्योग संघ, कास्की र अखिल नेपाल संचार, छापाखाना र प्रकाशन मजदुर संघ, कास्कीबीच बुधबार ११ बुँदे सहमति भएको छ । व्यवसायी र मजदुरबीच बुधबार भएको वार्तामा ११ बुँदे मागको सम्बोधन गरिने भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम समेत फिर्ता भएको छ । चैत १ गतेदेखि न्युनतम सेवा सुविधा लागु गर्ने, नियुक्ति पत्रको व्यवस्था गर्ने, दुर्घटना विमा, स्वास्थ्य विमा, उपदान, पहिचानसहितको कार्ड, राज्यले प्रदान गरेका विदाको व्यवस्था गर्नेलगायतको सहमति भएको हो । वार्तामा व्यवसायीका तर्फबाट मुद्रण उद्योग संघका उपाध्यक्ष पदम श्रेष्ठ, सचिव राम भण्डारी, मुद्रण व्यवसायी देविप्रसाद अर्याल र मजदुर संघका तर्फबाट केन्द्रीय उपाध्यक्ष एवं जिल्ला अध्यक्ष लिलाबहादुर घर्ती, केन्द्रीय सचिव एवं जिल्ला सचिव गणेश वि.क, केन्द्रीय सदस्य एवं जिल्ला सदस्य विष्णु पौडेलको उपस्थिती रहेको थियो । उक्त वार्तामा नयाँबजार इलाका अध्यक्ष नारायण पौडेल, इकाई अध्यक्ष रवि खड्का, इलाका अध्यक्ष रवि गुरु, इकाई अध्यक्ष अमर कुमाल, हिमालय अफसेट प्रेसका इकाई अध्यक्ष चन्द्र केसी, प्रतिक अफसेट प्रेसका इकाई अध्यक्ष सुकबहादुर गुरुङ पनि उपस्थित थिए ।

यसअघि, अखिल नेपाल संचार, छापाखाना र प्रकाशन मजदुर संघले माघ २३ गते मुद्रण उद्योग संघ समक्ष ११ बुँदे मागपत्र पेश गरेको थियो । उक्त मागपत्र उपर सुनुवाई नभएपछि संघले पुनः फागुन १७ गते सात दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र पेश गरेको थियो । सो मागका सम्बन्धमा मंगलबार व्यवसायी र मजदुरबीच भएको पहिलो चरणको वार्ता सफल भएको थिएन । माग पुरा नभएपछि मजदुरहरुले संघर्षका कार्यक्रम अन्तर्गत मंंगलबार हातमा कालोपट्टी बाँधेर काम गरेका थिए भने बुधबार छापाखानाहरुमा कालोझण्डा टाँगेका थिए । बुधबारको सहमति पश्चात भने आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको सचिव गणेश विकले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...