फूटपाथमा अथकको ‘उल्टो बाँसुरी’ विमोचित

साहित्यकार एवं पत्रकार कमल पौडेल अथकद्धारा लिखित १२ औं साहित्यिक कृति उल्टो वाँसुरी मंगलवार पोखरामा लोकार्पण भएको छ । पोखराको महेन्द्रपुल हुलाक अगाडिको सडक पेटीमा पलेँटी कसेर बसेका कृतिकार अथकसँग आजको प्रमुख अतिथि कोहो भन्दै आगन्तुक पुग्दै थिए ।तब उनले तपाइँहरु नै हो भन्दै झोलाबाट पुस्तक निकालेर ‘पढ्नुस् छपाई मूल्य दिनुस्’ भने तब पुस्तक भटभट विमोचन हुन थाल्यो । पुस्तक विमोचन भने लगत्तै ठूला होटलका सभाहल र ठूला मानिसको हातबाट विमोचन गरे हुन्छ भन्नेहरुलाई भने सो कार्यक्रम साहित्य जगतमा नै नौलो बनेको छ ।

कतिपय तपाइँको पुस्तकको भूमिका म लेखिदिन्छु पाण्डुलिपि ल्याउनुस् भन्ने र तपाइँको पुस्तकको प्रमुख अतिथि मलाई बनाउनुस् भन्दै स्रष्टाको चाप्लुसीमा लाग्नेहरुलाई समेत कार्यक्रमले झापड दिएको छ ।  कृतिका स्रष्टा अथकले करिव डेढ घण्टा सडकमा बसेर आफ्नो पुस्तक पाठकलाई किनाएर विमोचन गरेका हुन् । त्यहाँ न त कुनै प्रमुख अतिथि भनेर बोलाइएका मानिस थिए न त मञ्च नै थियो । महेन्द्रपुल हुलाक अगाडिको फूटपाथको धुलोमा एउटा गुन्द्री ओछ्याएर कृतिका श्रष्टा अथक वसेका थिए ।

घडीको समयमा शुरु भएको कार्यक्रममा आगन्तुक पाठकहरु कार्यक्रम कता हो भन्दै खोज्दै आए र पुस्तक किनेर स्रष्टालाई वधाई दिए । स्रष्टा अथकले करिव २ वर्ष लगाएर तयार पारेको सो कृति उल्टो बाँसुरीमा २५ वटा खण्ड रहेका छन् । स्रष्टा आफै पत्रकार भएको कारण पत्रकारिता भित्रका बेथिति र विसंगतिलाई पुस्तकमा उतार्ने प्रयास गरेका छन् ।

कृतिका स्रष्टा अथकले मञ्च तयार पारेर मञ्चबाट लिईने आशिर्वादले मानिसलाई आशक्ति र निष्ठूरी बनाउने भन्दै सडकमा बसेर गरिएको विमोचन उत्तम  हुने भन्दै सो शैली अपनाएको बताए । उनले स्रष्टाका सिर्जना मागेर होईन किनेर पढ्ने बानी बसाल्नको लागि पनि कार्यक्रमले सघाउने विश्वास व्यक्त  गरे  । भूषण प्रकाशनको सहयोगमा पोखराका पूष्प व्यवसायी दयाकुमार द्धाले सो पुस्तक प्रकाशन गरेका हुन् । एउटा स्रष्टाले धेरै आफ्ना सिर्जनासँगै निकै संघर्षको साथ साहित्यिक तथा पत्रकारिता यात्रामा हिँडेको देख्दा मनबाटै कृति प्रकाशन गर्न मन लागेको प्रकाशक द्धाले बताए ।

पुस्तक किनेर विमोचन गरेका पत्रकार रामचन्द्र बराल, साहित्यकार एवं प्राध्यापक पीताम्वर नेपाली, छवि सुवेदी विजयी, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद वाँस्तोला, स्याङ्जाली पूर्व जिल्ला न्यायाधीश करुणानिधि शर्मा, आदिवासी जनजाति पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद पुन पुर्जा, डा.झलकबहादुर कार्की, अग्रज पत्रकार नारायण कार्की, भरत कोईराला, मनोज अधिकारी, सुरेन्द्र पौडेल लगायतले अथकको पुस्तक लोकार्पण शैली मन परेको प्रतिक्रिया दिए । उनीहरुले स्रष्टाले आफ्नो सिर्जनाको मूल्य लिनको लागि आफैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्दै पोखराबाट सुरु भएको सो अभियान देशव्यापी बनाउनु पर्ने बताए ।

कमेन्टहरु
Loading...