संविधान बनाउन संविधानसभा चाहिँदैन’

गोरखा, चैत्र २५ – नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले संविधानसभा नभए पनि संविधान निर्माण गर्न सकिने बताएका छन् । उनले दलहरुबीच राष्ट्रिय सहमति भए १० वर्ष मिलेर सत्ता चलाउन सकिने उल्लेख गरे । नेकपा-माओवादी गोरखाले आइतबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादीलाई राज्य सत्तामा भाग चाहिएको खुलासा गरे । ‘हामीलाई राज्यसत्तामा साझेदारी चाहिएको हो,’ उनले भने, ‘कानुन, सुरक्षा, अर्थ क्षेत्रमा हाम्रो पार्टीको समान प्रतिनिधित्व हुनुपर्छ ।’

माओवादी हारेर शान्ति प्रक्रियामा आएको ठान्नेहरुलाई लडेर देखाउने दावी गरे । ‘अरु दललाई एकलौटी संसदिय लोकतन्त्र चाहिन्छ,’ उनले भने, ‘माओवादी एकलौटी जनवादी व्यवस्था स्थापना गर्न चाहन्छ ।’ राज्य सत्तामा माओवादीले भाग नपाए निर्वाचन हुन नदिने उनले बताए । १२ बुँदे समझदारीको जगमा संसदवादी पार्टीहरु र नेकपा-माओवादी बिचमा सहमति भए मुलुकले निकासा पाउने उनको तर्क थियो ।

माओवादी माथि दमन भए जनसत्ता व्युँताएर बन्दुक उठाउने चेतावनी उनले दिए । ‘अन्यायपूर्वक बन्दुक उठाएर हामी माथि दमन भयो भने के के हुन्छ थाहा हुँदैन, हामीलाई न्यायपूर्ण बन्दुक उठाउने अधिकार छ,’ उनले भने । चन्दले जनसत्ता व्युँताएर दुई वटा सत्ता बनाउने बताए ।  cp. ekantipur.com

कमेन्टहरु
Loading...