मैत्रिपूर्ण फुटबलमा नेपाल पाकिस्तानसँग पराजित

२४ माघ, काठमाडौं । पाकिस्तानविरुद्धको पहिलो मैत्रिपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । एएफसी च्यालेन्ज कप छनोट फुटबलको तयारी स्वरुप बुधबार भएको खेलमा नेपाल पाहुना टोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

पोलिस प्रशिक्षक ज्याक स्टेफानोस्कीले नेपाली टोली सम्हालेपछि भएको पहिलो खेलमा नै नेपालले हार व्यहोरेको हो । नेपाल र पाकिस्तानबीचको दोस्रो तथा अन्तिम मैत्रिपूर्ण फुटबल शनिबार हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अन्तिम ५ मिनेट सम्हालिन नसक्दा नेपाल हार व्यहोर्न बाध्य भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिसकेको अवस्थामा थपिएको ५ मिनेटका अतिरिक्त समयको पहिलो मिनेटमा नै पाकिस्तानले गोल गरेका हो । पाकिस्तानी खेलाडीको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङलाई विट गर्न सफल भएपनि बारमा लागेर फर्किएको थियो । तर, अनमार्क रहेका असाम बासिरले गोललाइनमा रहेको बललाई सही दिशा दिएका हुन् ।

यसअघि निर्धारित समयमा दुबै टोलीले केही राम्रा मुभ बनाएपनि गोल गर्न सकेन । नेपाली प्रशिक्षक ज्याकले युवा खेलाडीलाई स्थान दिएका थिए । उनले अनिल गुरुङ र जुमानु राईलाई बेन्चमा राखेका थिए भने सन्तोष साहुखल, भरत खवासलाई पहिलो रोजाइमा मैदान पठाएका थिए ।

यस्तै जगजित श्रेष्ठले पूरै खेल खेले भने अमर डंगोल, विशाल राई ए, गणेश खड्का र चेतन घिमिरे वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । cp. onlinekhabar.com

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।

९० दिन पुराना लेखमा कमेन्टहरु बन्द गरिएको छ ।