नेपालसामु सुनौलो अवसर

प्रकाश तिमल्सिना, काठमाडौं, फागुन १९-  नागरिक गोल गर्न नसकेर आलोचित नेपाली राष्ट्रिय फुटबल टोलीसामु मुक्ति पाउने सुनौलो मौका छ। विपक्षी फुटबलको गुमनाम नर्दन मारियाना आइल्यान्ड अनि भिडन्तस्थल घरेलु मैदान पाउनु नेपाली टोलीलाई राम्रो अवसर हो। नेपालले एएफसी च्यालेन्ज कप पाँचौं संस्करणको औपचारिक यात्रा शनिबार दशरथ रंगशालाबाट थालनी गर्दैछ। छनोट समूहको पहिलो प्रतिस्पर्धी मारियानासँग फिफा वरियता छैन। आलोचना मत्थर पार्न मात्र होइन, प्रतियोगिताको अन्तिम चरण छानिने आशा बलियो बनाउन पनि नेपाललाई शनिबार फराकिलो जित आवश्यक छ।

प्यालेस्टाइन र बंगलादेश पनि रहेको समूहबाट विजेता हुँदै स्वतः छनोट हुन वा अन्य समूहसँग पनि तुलना हुने उत्कृष्ट उपविजेता बन्न गोल अन्तरको महŒव हुनसक्ने नेपाली टोलीले राम्ररी बुझेको छ। पहिलो खेल रवाफिलो पारामा हात पार्न सके प्यालेस्टाइन र सार्क छिमेकी प्रतिद्वन्द्वी बंगलादेशविरुद्धको खेललाई मनोबल उँचो बनाउन सक्नेछ। गोल नहुनु मात्र नेपाली टोलीको समस्या होइन। समस्याको डंगुरबीच एकरुपको प्रदर्शन गर्न नसक्नु नेपालको अर्को मुख्य कमजोरी हो।

त्यसैले नर्दन मारियानालाई फराकिलो अन्तरमा हराए पनि टोलीसँग ढुक्ककोे अवस्था भने छैन। झन्डै दुई वर्षअघि रंगशालामा विश्वकप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगमा अन्तर्राष्ट्रिय फुटबलको ‘बबुरो’ टिमोर लिस्टेलाई ५-० ले हराएयता नेपाल त्यस्तो प्रदर्शनबाट सधैं विमुख छ। २००२ को विश्वकप छनोटमा मकाउलाई ६-१ हराएपछि टिमोर लिस्टेविरुद्धको जित नेपालको पहिलो फराकिलो जित थियो। मकाउमाथिको जित विदेशी भूमिमा थियो। घरमा भने १९९९ मा भुटानमाथि ७-० को प्रदर्शन उत्कृष्ट हो।

मकाउलाई हराएपछि टिमोर लिस्टेसँग खेल्नुबीचको समय होस् वा टिमोरलाई हराएदेखि गत महिना पाकिस्तानविरुद्ध मैत्री शृंखलामा हार बेहोर्दासम्म नेपालको प्रदर्शनमा सधैं उतारचढाव देखिन्छ। टिमोरसँग खेलेयता नेपाली टोलीले गोल गर्न र जित्न लगभग बिर्सिए जस्तै भइसकेको छ। त्यसपछिका १७ खेलमा नेपालले एउटा जित, ५ वटा बराबरी खेल्दा बाँकी ११ खेलमा हार बेहोरेको छ। १७ खेलमा ३५ गोल खाँदा ६ गोल फर्काएबाट पनि नेपाली टोलीको पछिल्लो अवस्था छर्लङ् हुन्छ। पछिल्ला १२ खेलमा नेपालले एउटै खेल जित्न सकेको छैन। सन् २०११ को डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपको समूह चरणमा बंगलादेशलाई १-० हराएयता नेपाल जितविहीन छ।

दशरथ रंगशालामा खेलेका पछिल्ला ८ खेलमा २ गोल मात्रै गर्न सक्नुबाट पनि नेपाली टोलीको कमजोर स्कोरिङ क्षमता स्पष्ट देखिन्छ। त्यसकारण पनि टोली र त्यसमा पनि विशेषतः स्ट्राइकरहरू जुमानु राई, अनिल गुरुङ, सन्तोष साहुखल आलोचित छन्। इस्ट टिमोरलाई ५-० ले हराउँदा जुमानु र अनिलले १-१ गोल गरेका थिए। जुमानुले त्यसपछि एक गोल गरेका छन् भने अनिल गोलविहीन छन्। सन्तोषले २०६७ को चैतयता गोल गर्न सकेका छैनन्। उनले पछिल्लोपल्ट पोखरामा भुटानविरुद्ध मैत्री खेलमा गोल गरेका थिए। टिमोर लिस्टेसँग खेल्दा नेपालको फिफा वरियता १ सय ४८औं थियो।

टिमोर भने २ सय स्थानभन्दा तल थियो। अहिले च्यालेन्ज कपको पहिलो प्रतिद्वन्द्वी नर्थन मारियाना टिमोर लिस्टेभन्दा पनि निकै कमजोर टोली भन्ने बुझिन्छ। त्यसकारण पनि शनिबार नेपाली जित्नेमा विश्वस्त छ। १९९८ बाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नर्थन मारियानाले अहिलेसम्म एउटै खेल जित्न सकेको छैन। पछिल्लोपल्ट नोभेम्बरमा ग्वामसँग टोली ८-० ले पराजित भएको थियो। च्यालेन्ज कपमा यो टोलीको पहिलो सहभागिता हो। अमेरिकी उपनिवेश नर्थन मारियाना ओसियानाबाट अलग हुँदै सन् २००९ मा एसियाली फुटबल महासंघ (एएफसी) मा आबद्ध भएको हो। अझै एएफसीको पूर्ण सदस्य भइसकेको छैन।

५० हजारभन्दा केही बढी जनसंख्या रहेको मारियानाले फिफा वरियतासमेत पाउन बाँकी छ। १४ वर्षमा एउटै खेल जित्न नसकेको नर्थन मारियाना नेपालविरुद्ध उच्च प्रदर्शन गर्न लालायित हुनेछ। नेपालको उद्देश्य विल्कूल फरक छ। लगातार दोस्रोपटक घरेलु मैदानमा च्यालेन्ज कपको छनोट पार गर्न टोली पहिलो खेल जितेर बलियो आधार तयार पार्न चाहन्छ।

सन् २०१४ विश्वकप (दशरथ रंगशाला, जुन २९ र जुलाई २, २०११) विरुद्ध इस्ट टिमोर २-१ (अनिल गुरुङ, जुमानु राई ) विरुद्ध इस्ट टिमोर ५-० (अनिल गुरुङ, भोला सिलवाल, जुमानु राई, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ) ….. सन् २०११ जुलाइ २३ जोर्डन (विश्वकप (२०१४) छनोट, दोस्रो चरण) १)विरुद्ध जोर्डन ०-९ सन् २०११ जुलाइ २८ काठमाडौं (विश्वकप (२०१४) छनोट, दोस्रो चरण) २)विरुद्ध जोर्डन १-१ (भरत खवास) सन् २०११ अक्टुबर ११ मनिला, फिलिपिन्स (मैत्रीपूर्ण) ३)विरुद्ध फिलिपिन्स ०-४ सन् २०११ डिसेम्बर २-११ (भारत, नयाँ दिल्ली) , प्रशिक्षक ग्रहाम रोबर्टस ४)विरुद्ध माल्दिभ्स १-१ (सन्दीप राई) ५)विरुद्ध बंगलादेश १-० (सागर थापा ६)विरुद्ध पाकिस्तान १-१ (भरत खवास) ७)विरुद्ध अफगानिस्तान ०-१ सेमिफाइनल एएफसी च्यालेन्ज कप , काठमाडौं (मार्च ८-१९,२०१२) ८)विरुद्ध प्लालेस्टाइन ०-२ ९)विरुद्ध माल्दिभ्स ०-१ १०)विरुद्ध तुर्किमिनिस्तान ०-३ नेहरु कप, भारत , दिल्ली (अगस्ट २२-३१,२०१२) ११)विरुद्ध माल्दिभ्स १-२ (जुमानु राई ) १२)विरुद्ध क्यामरुन ०- ५ १३)विरुद्ध भारत ०-० १४)विरुद्ध सिरिया ०-२ मैत्रीपूर्ण खेल (२० सेप्टेम्बर २०१२) १५)विरुद्ध बंगलादेश १-१ (भोला सिलवाल) मैत्रीपूर्ण खेल (६,९ फेब्रुअरी ,२०१३) १६)विरुद्ध पाकिस्तान ०-१ १७)विरुद्ध पाकिस्तान ०-१ १७ खेल १ जित, ५ बराबर, ११ हार ६ गोल गरेको, ३५ गोल खाएको cp.

कमेन्टहरु
Loading...