काठमाडौं, २४ जेठ / नेपालमा शनिबार थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनले शनिबार थप ३२ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किनेको संख्या ३ सय ६५ पुगेको छ । डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढीकी महिलाको शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो । उनीहरू दुबैको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।
डोल्पामा मृत्यु भएका पुरूष दमका रोगी थिए। उनी गत जेठ १६ गते सुर्खेतबाट डोल्पा गएर होम क्वारेन्टाइनमा बसेका थिए । कोरोनाबाट मृत्यु हुनेको सख्या १३ पुगेको छ ।