स्थानीय निर्वाचनमा मनोनयन दर्तामै ३१६ जना निर्विरोध (कस्ले कति सहति )

काठमाडौं, २३ वैशाख/ वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिकारनगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको थियो । वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या थपिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध चुनिए ।

शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर बुढाले उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ९ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित ४७ वटै पद निर्विरोध भएको बताए । त्यस्तै, डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार मल्लटसी गुरुङ निर्विरोध भए । उक्त गाउँपालिकमा अन्य सदस्य पदहरू पनि निर्विरोध भएका छन् ।

मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध भएका छन् । निर्वाचन कार्यालय मनाङका प्रमुख रामप्रसाद पौडेलले उक्त गाउँपालिकामा रहेको ५ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित २२ पद निर्विरोध निर्वाचित भएको बताए । पाँचवटै वडामा दलित महिला सदस्यमा उम्मेदवारी नै परेको छैन ।

निर्विरोध निर्वाचित भएका ३ सय १६ मा वडाध्यक्ष ५६, महिला वडा सदस्य ६३, दलित महिला सदस्य ७७ र खुलातर्फका वडा सदस्यको संख्या ११६ रहेको सचिव मैनालीले बताए । विभिन्न पदमा निर्विरोध भएकामध्ये नेकपा एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ३२ जना, राप्रपाका ५, नेमकिपाको २, नयाँ शक्तिको १, परिवार दलको १ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

कमेन्टहरु
Loading...