असन्तुष्टिसँगै नारायणकाजी निष्क्रिय

काठमाडौ, वैशाख १८ (सेतोपाटी) /एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी नेतृत्वसँगको असहमति बढ्दै गएपछि पार्टी गतिविधिबाट लगभग निष्कृय बस्न थालेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई तथा अन्य केन्द्रीय नेताहरु कार्यकर्तालाई चुनाव प्रशिक्षण दिन देश दौडाहामा गए पनि उनले एउटै प्रशिक्षण कार्यक्रममा भाग लिएका छैनन् । यहाँसम्म कि अध्यक्ष दाहाल दिल्लीबाट फर्क‌ंदा पार्टीका प्राय: सबै वरिष्ठ नेताहरू स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे पनि श्रेष्ठ अनुपस्थित रहे । उनी भने दाहाल आउने दिन गोरखा गइदिए ।

श्रेष्ठ निकट एमाओवादीका एक नेता भन्छन् –‘पछिल्लो समयमा पार्टी नेतृत्वसँग विशेषतः भारतलाई हेर्ने दृष्टिकोणलाई लिएर उहाँको असहमति बढ्दै गएको छ । ‘पार्टीले राष्ट्रियताको सवालमा भारतसँग पूर्णरूपमा घुँडा टेकेको र पार्टीपंक्तिलाई गुमराहमा राखेर सम्बन्ध अघि बढाएकामा उहाँको ठूलो असन्तुष्टि छ,’ उनले भने, ‘उहाँले हामीसँग राजनीति नै छाड्ने, पार्टी छाड्ने वा उपाध्यक्षको पद छाड्ने भन्नेबारे सोचिरहेको बताउन थाल्नुभएको छ ।’

श्रेष्ठले प्रधान न्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने विषयको पनि चर्को विरोध गरेका थिए । ‘उहाँले भट्टराई सरकारलाई नै लम्ब्याउने र भदौपछि चुनावी सरकारको नेतृत्व सुशील कोइरालालाई सुम्पने प्रस्ताव पार्टीमा राख्नुभएको थियो, ’ ती नेताले सेतोपाटीलाई भने । श्रेष्ठको प्रस्ताव वर्षमान पुन र टोपबहादुर रायमाझीले समेत समर्थन गरेको उनले दाबी गरे ।

श्रेष्ठ पूर्वप्रधानमन्त्री भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौताको कटु आलोचक पनि हुन् । उनले बिप्पा सम्झौता नेपालको हितमा नरहेको भन्दै संशोधन गर्न पार्टीमा बारम्बार मागसमेत राखेका थिए । निवर्तमान उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले मुख्य नेताहरु राजदुतहरुसँग गुपचुप भेट गर्ने गरेकोमा आपत्ति प्रकट गर्दै यसबारे कुटनीतिक भेटघाट र भ्रमणसम्बन्धी नीतिको ‘कुटनीतिक आचारसंहिता’ मन्त्रिपरिषदमा पेश गरेका थिए ।

श्रेष्ठले चैत ३० गतेको मन्त्रिपरिषद्को अन्तिम बैठकबाट उक्त आचारसंहिता पारित गराउन जोडबल नै गरेको भए पनि केही मन्त्रीका विरोध र तत्कालीन प्रधानमन्त्री भट्टराईको वेवास्ताका कारण उक्त प्रस्ताव रोकिएको थियो । cp.

कमेन्टहरु
Loading...