सगरमाथामा बढ्यो विदेशी चलखेल

८ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल सरकारको नियन्त्रणमा नरहेको गुनासो त्यहाँ पुगेर फर्कनेहरुले गरेका छन् । गत आइतबार बेलायती नागरिक डानियल ह्युजले सगरमाथाको शिखरबाट अवैधानिक तरिकाले गरेको भिडियो अन्तरवार्ताले पनि सगरमाथामा नेपाल सरकारको अनुपस्थितिलाई उजागर गरेको छ ।

सगरमाथाबाट आइतबार डानियलले बीबीसीलाई लाइभ भिडियो अन्तरवार्ता दिएपछि त्यसलाई नेपाल सरकारले अबैध कार्य बताइसकेको छ । स्मार्ट फोनमार्फत दिइएको यो भिडियो अन्तरवार्तालाई ह्युजले विश्वको सबैभन्दा अग्लो शिखरबाट गरिएको पहिलो भिडियो अन्तरवार्ताको संज्ञा दिएका थिए । तर, यसका लागि उनले नेपाल सरकारसँग कुनै अनुमति लिएका थिएनन् ।  डानियलले अनुमति नलिई भिडियो अन्तरवार्ता दिनु गैरकानूनी भएको पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई उधृत गर्दै  फ्रान्सेली समाचार एजेन्सी एएफपीले लेखेको छ ।

सगरमाथाबाट अबैध भिडियो अन्तरवार्ता दिने बेलायती नागरिक डानियलआखिर कसरी सम्भव भैरहेको छ, सगरमाथामा यस्तो अवैधानिक काम ? यस्तो कार्यलाई सरकारले किन बेलैमा नियन्त्रण गर्न सकिरहेको छैन ? यसबारे हालै सगरमाथाको फेदमा पुगेर फर्केका एक नेपाली भन्छन्, ‘विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रो राज्यको नियन्त्रणमा छैन, त्यहाँ जसले जे गरे पनि हुन्छ ।’

‘अहिले सगरमाथा नेपाल सरकारको नियन्त्रणमा छैन, जुनसुकै विदेशीहरु नेपाल सरकारलाई थाहै नदिई विना रोयल्टी सीधै सगरमाथा चढ्न सक्छन्, यसबारे हाम्रो सरकारलाई थाहै हुन्न ।’ सगरमाथाको आधार शिबिरमा केही दिन बसेर फर्केका चलचित्र निर्देशक मनोज पण्डितले अनलाइनखबरसँग भन्नुभयो । ‘आधार शिबिरमा दुईजना सरकारी कर्मचारी छन्, उनीहरुलाई बस्ने व्यवस्थासम्म सरकारले गर्न सकेको छैन, तिनको काम भनेको मरेका मान्छेको मुचुल्का बनाउनुमात्र हो । सगरमाथामा जो सुकै पुगोस् तिनको वैधता जाँच्ने क्षमता ती कर्मचारीमा छैन ।’ आधार शिबिरमा सुरक्षाकर्मी नहुँदा सरकारी कर्मचारी धम्कीको शिकारसमेत हुनुपरेको उहाँले बताउनुभयो ।

नाम्चे बजारबाट दुई/तीन दिन हिँडेपछि सगरमाथाको पहिलो आधार शिविरमा पुगिन्छ । आउँदो २९ तारेखसम्म त्यहाँ सरकारी सम्पर्क अधिकृत रहे पनि त्यहाँ न कुनै सुरक्षाकर्मी छन्, न कर्मचारीलाई बस्ने छुट्टै व्यवस्था नै । हिमाल आरोहणका लागि गएकाहरुले टाँगेको पालभित्रै सरकारी कर्मचारी घुस्रनु पर्ने भएकाले अवैधरुपमा त्यहाँ पुगेका माथि सरकारले नियन्त्रण गर्न असम्भव रहेको पण्डितको कथन छ । ‘जुनसुकै विदेशी आधार शिविरमा अवैधरुपले बस्न सक्छ, सगरमाथा चढ्न सक्छ, त्यसलाई रोक्ने कुनै संयन्त्र रहेनछ ।’

नेपाल भारत संयुक्त सैनिक सगरमाथा आरोहण तथा सरसफाई अभियानका आरोहीहरु

नेपाल भारत संयुक्त सैनिक सगरमाथा आरोहण तथा सरसफाई अभियानका आरोही

सरकारी कर्मचारीहरु पनि भत्ता पचाउनमात्रै त्यहाँ पुग्ने र काठमाडौं फर्कने गरेको पण्डितले बताउनुभयो । तर, एकपटक सगरमाथा आरोहण गरिसकेका कर्मचारी खिमलाल गौतम र अर्का कर्मचारी ज्ञानेन्द्र श्रेष्ठमात्र आधार शिविर नछाडी अहिलेसम्म बसिरहेको उहाँले अनलाइनखबरलाई जानकारी दिनुभयो । ‘ती विचरा दुई कर्मचारीको बिजेग छ, म जाँदा पनि लासको मुचुल्का बनाइरहेका थिए, कही दिन बसेर फर्कँदा पनि अर्को लासको मुचुल्का लेखिरहेका थिए । अरु कर्मचारीचाँहि काठमाडौंमै बसेर भत्ता बुझिरहेका रहेछन् ।’

सगरमाथालाई बचाउने हो र त्यहाँ विदेशीको अवैधानिक चलखेल रोक्ने हो भने नेपाल सरकारले सगरमाथा आधार शिबिरमा सुरक्षाकर्मीसहित स्थायी सरकारी कार्यालय खडा गर्नुपर्ने पण्डितले बताउनुभयो । कमसेकम सगरमाथा आरोहणको मौसममा आधार शिबिरमा सुरक्षाकर्मीसहित सरकारी कर्मचारी राख्नुपर्ने पण्डितको तर्क छ ।

सगरमाथा आधार शिविर वरपर भारतीय झण्डाहरु प्रशस्त फहराइरहेको तर नेपालको झण्डा नरहेको पण्डितको गुनासो छ । ‘धार्मिक झण्डासमेत छ तर राष्ट्रिय झण्डा देखिएन ।’

हालै भारतीय सेना र नेपाली सेनाको संयुक्त टोलीले सगरमाथाको आरोहण गर्नुका साथै फोहोर सफा गरेको भनिए पनि प्रचारमात्रै बढी भएको तर, नेपाल सरकारको उपस्थिति र नियन्त्रण सगरमाथामा नदेखिएको बताउनुभयो । चीनको सुरक्षालाई पनि प्रभाव पार्न सक्ने सामरिक महत्वको सगरमाथामा यस्तो बेथिति देखिनु दुःखद भएको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ-’पत्रकारले एकपटक गएर हेर्नै पर्ने भएको छ सगरमाथाको आधार शिबिर ।’

चीनसँग सीमा जोडिएको सामरिक महत्वको यस्तो स्थानमा विदेशीले गर्ने क्रियाकलापलाई राज्यले गम्भीरतापूर्वक लिनु पर्ने हो कि ? सगरमाथामा कसैले जासुसी डिभाइस राखेर फर्कियो भने त्यसले नेपालको आन्तरिक सुरक्षामा दूरगामी असरमात्रै पार्दैन, नेपाल र चीनवीचको सम्बन्धमा पनि समसया सिर्जना गरिदिन सक्छ भन्नेतिर नेपाल सरकारको गम्भीर ध्यान जान आवश्यक छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73444/#sthash.bpHenMQX.dpuf

बीबीसीमा प्रसारित डानिलयलको भिडियो

http://www.youtube.com/watch?feature=player_embedded&v=4ffQLsWHcrY

 

कमेन्टहरु
Loading...