बैंकमा नगद डलर अभाव, मनी चेन्जरमा चाहेजति

२८ जेठ, काठमाण्डौं । बैंकहरुमा नगद डलरको अभाव हुन थालेको छ । वाणिज्य बैंकहरुले ठूला दलका नोट उपलब्ध गराउन नसक्ने भन्दै ग्राहकलाई ट्राभल चेक तथा क्रेडिट र डेबिट कार्डमार्फत डलर कारोबार गर्न सुझाव दिन थालेका छन् । विदेश पढ्न जाने विद्यार्थी, तालिम-गोष्ठि र अन्य प्रयोजनमा विदेश भ्रमण जानेलाई बैंकहरुले नगद डलर दिन सकेका छैनन् । सीमित रुपमा यस्तो रकम पाए पनि ठूला नोट पाउन मुस्किल छ ।

Doller-Photoविदेशी मुद्रा सटही गर्ने मनी चेन्जरले बजारबाट सीधै डलर लिनु, सीमावर्ती सहरबाट नगदै विदेश पठाउनु, नेपाल भ्रमण आउने पर्यटकले नगदमा कारोबार नगर्नु, निर्यातको तुलनामा आयात बढ्दै जानु, सुन तस्करीमा डलर प्रयोग हुनुजस्ता कारणले डलर अभाव भएको बैंकर्स बताउँछन् ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेलले मागजति नगद डलर दिन नसकिएको बताएको खबर कारोबारदैनिकले छापेको छ । यता मनी चेन्जरहरुले भने राष्ट्र बैंकले तोकेको दरभन्दा दुईदेखि तीन रुपैयाँ बढी लिएर डलर साट्न कुनै समस्या नभएको बताएका छन् । बैंकहरले नगद डलर अभाव भएको भनिरहँदा ठमेलस्थित एक मनी चेन्जर सञ्चालकले १० हजार डलरसम्म सटही गर्न सकिने बताए ।

डलर इतिहासकै महँगो

अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मुल्य ९२ रुपैयाँ ९३ पैसा तोकेको छ । एकैदिन १ रुपैयाँ ३४ पैसा महँगिएपछि डलरको भाउ आकाशिएको हो । राष्ट्र बैंकले सोमबारका लागि रिफरेन्ट रेट ९१ रुपैयाँ ५९ पैसा तोकेको अभियान दैनिकमा खबर छ । गत असोज २१ गते ८२ रुपैयाँ ९९ पैसा रहेको डलरको विनिमय दर ८ महिनामा १० रुपैयाँ बढेको छ । पछिल्लो पटक गत वैशाख २० गते डलरको सटही मूल्य ८६ रुपैयाँ ४५ पैसामा झरेको थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...