पोखरा, १२ माघ /सुनार (विश्वकर्मा) समुदायका युवतीहरुबिच सुन्दरी प्रतियोगिता हुने भएको छ । भिजुअल जोन प्रालिको आयोजनामा ‘मिस सुनार (विश्वकर्मा) नेपाल २०७०’ हुने भएको हो । प्रतियोगिताका लागि आईतबारबाट फाराम खुलेको आयोजकले जनाएको छ ।
फाराम माघ ३० गतेसम्मको लागि खुला रहनेछ । ‘प्रतियोगितामा सुनार समुदायका युवतीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।’ भिजुअल जोनका प्रबन्ध निर्देशक सन्जु सुनारले भने–‘समुदायलाई उकास्नका लागि हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’ प्रतियोगितामा १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित युवतीहरुले मात्र सहभागिता जनाउने पाउने उनले बताए ।

मिस सुनार (विश्वकर्मा) नेपालमा देशभरिका सुनार युवतीहरुले सहभागिता जनाउन पाउने आयोजक भिजुअल जोनले बताएको छ । ‘समुदायको उचाईलाई समाजमा उठाउने हाम्रो उद्देश्य हो ।’ प्रतियोगिताका ईभेन्ट को–अर्डिनेटर प्रतिक सुनारले भने–‘हामीले नितान्त सामाजिक भावनासहित कार्यक्रम गर्न लागेका हौँ ।’
फाराम सकिएसंगै प्रतियोगीहरुका लागि तालिम दिन शुरु गरिने आयोजकले बताएको छ । फागुन १ गतेदेखि तालिम शुरु हुने उसले जानकारी दिएको छ । विभिन्न चरणगरि ३० जना प्रतियोगी छानेर उनीहरुलाई ग्राण्ड फिनालेमा लैजाने उसको योजना छ । आयोजकले दिएको जानकारी अनुसार फागुन २४ गते प्रतियोगिताको फाईनल हुनेछ ।