दोस्रो मिलेनियम ट्रेक महोत्सव शुरु

रेम बिक
कोल्मा (स्याङ्जा), २७ माघ/नेपालीमा एउटा उखान छ, ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ । चाहे जति सुकै राम्रो कुरा होस्, त्यसको प्रचारप्रसार नहुँदासम्म कसैलाई थाहा हुँदैन भन्ने हिसाबले यो उखान चर्चित छ । त्यसैले होला आफ्नो ठाउँ निकै सुन्दर भएपनि प्रचारप्रसार गर्नुपर्ने देखेपछि कोल्माका स्थानियबासीहरु महोत्सवलाई त्यसको माध्यम बनाएका छन् । आफ्नो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नका लागी कोल्माबासीसंगै आसपासका गाविसहरु यतिबेला लागिपरेका छन् ।

आफ्नो गाउँ ठाउँको प्रचारप्रसारका लागी जुटेर आयोजना गरेको ‘दोस्रो मिलेनियम ट्रेक साँस्कृतिक महोत्सव’ शनिबारदेखि शुरु भएको छ । विशेष गरि मिलेनियम पदमार्गको प्रचारप्रसार गरेर कोल्मासंगै पदमार्गमा पर्ने विभिन्न स्थानको प्रचार गर्ने महोत्सवको लक्ष्य छ । महोत्सवको शनिबार एक कार्यक्रमका बिच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष क्षेत्रीले ग्रामिण भेगको विकास गर्नको लागि युवा शक्ति विदेशिने लहर रोकिनुपर्ने बताए ।

ग्रामिण भेगको विकास पर्यटन र कृषिमा रहेकोले गाउँ ठाउँमा कृषि सम्बन्धि क्रियाकलाप गरेर आम्दानी बढाउन सके रोजगारीको लागी युवा पुस्ता विदेशिन समेत नपर्ने उनको भनाई थियो । ग्रामिण भेगको सँस्कृति बचाउँदै युवा पुस्तालाई त्यसको प्रचारप्रसारमा प्रयोग गर्न सके विकास संभव रहेको उनले बताए । पदयात्रा मार्गका डिजाइनर डा. कृष्ण केसीले यो पदमार्ग नेपालमै नौलो खालको भएकाले एउटै मार्गबाट पर्यटकले विविध सँस्कृति र दृष्यावलोकन गर्न सक्ने बताए । त्यस्तै महोत्सवमा पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्यबहादुर भुजेलले मिलेनियम ट्रेकको विकासमा यहिँका बासिन्दाले सक्रियता देखाउनुपर्ने भन्दै नेपालका पदयात्रा मार्गहरु संकटमा पर्दै गएको अवस्थामा तिनलाइ संरक्षण गर्नुपर्ने बताए ।

कमेन्टहरु
Loading...