लोडसेडिङ हटाउन १५ अर्बको विद्युत भारतबाट ल्याइने

काठमाडौं, २२चैत/विद्युतभार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । अहिलेसम्म प्राधिकरणले ९ अर्ब ६ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप ६ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएको भन्दा कम पनि हुन सक्ने प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणमा मंगलबार​​ आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गएको वर्ष झण्डै १४ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात भएको जानकारी दिए । उनका अनुसार गएको वर्ष १३ अर्ब ९७ करोड २१ लाख ९४ हजार ५ सय २२ रुपैयाँको विद्युत् आयात गरिएको थियो ।चालु आवको अन्त्य सम्म हिसाब गर्ने हो भने झण्डै एक अर्ब रुपैयाँ बढीको मात्रै विद्युत् थप आयात हुने छ । ऊर्जा सङ्कटलाई समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र केही आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैँले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ ।

प्रतिशतको हिसावमा गत वर्षभन्दा १ दशमलव ४४ प्रतिशत मात्रै बढी विद्युत् आयात हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । गत वर्ष ३२ अर्ब रुपैयाँ कुल आम्दानी गरेको प्राधिकरणले यस वर्ष १२ अर्ब बढी आम्दानी गर्दै ४४ अर्ब रपैयाँ आम्दानी गर्नेछ । चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १ सय ५ मेगावाट बिजुली उत्पादन थप भएको कार्यकारी निर्देशक घिसिङले बताए ।अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिँदै उहाँले त्यसलाई खपत कसरी बढाउने विषयमा छलफल भइरहेको उल्लेख गरे । प्राधिकरणले देशव्यापी अभियानका रुपमा बढाएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानले हालसम्म झण्डै चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको जनाएको छ । त्यसबाट प्राधिकरणलाई एक अर्ब २० करोड रुपैयाँ बराबरको आम्दानी भएको छ । कार्यकारी निर्देशक घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णत गलत भएको बताए ।

कमेन्टहरु
Loading...