लेखनाथ महोत्सवमा एकै दिन चालिस हजार दर्शक

लेखनाथ, माघ २९ /नवौं लेखनाथ महोत्सवमा चौथो दिन सोमवार मात्रै ४० हजार दर्शकले अवलोकन गरेका छन् । सोनाम ल्होसारको सार्वजनिक विदा परेकाले महोत्सवमा हजारौ दर्शक ओइरीएका हुन । लेखनाथको प्रस्तावित रंगशाला भण्डारढिकमा आयोजित महोत्सवमा राखिएका स्टलहरुमा सामान वेच्न भ्याई नभ्याई भएको थियो ।  महोत्सवमा झण्डै दुई करोडको कारोवार भएको आयोजकले दावी गरेका छन् । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने नाराका साथ शुरु भएको पश्चिमाञ्चलकै अन्तिम महोत्सवमा विभिन्न वस्तु तथा उत्पादनका तीन सय भन्दा वढी स्टल राखिएको छ । महोत्सवमा सोचे अनुरुप कारोवार र दर्शकको आगमन हुनु महोत्सवको सफलताको कडी भएको वाणिज्य संघका अध्यक्ष एवं लेखनाथ महोत्सवका मूल संयोजक सुमन भट्टराईले वताए । दर्शकहरुको गुनासा देखी सवै समस्याको व्यवस्थापन गरेका छौं, भट्टराईले भने—दैनिकजसो समिक्षा गरेर सुझाव लिने काम गरेका छौं ।

दर्शकको चापका कारण अघिल्ला दिनको तुलनामा सोमवार स्टलहरुमा उल्लेख्य व्यापार भएको स्टल व्यवस्थापन उपसमितिका संयोजक देवराज पन्थीले जानकारी दिए । पन्थिले भने—महोत्सवले विस्तारै गति लिदै छ, निर्धारित समयसम्म हामी लक्ष्यमा पुग्छौं ।’ आफ्नो व्यवसायको राम्रो प्रवद्र्धन भएको गौतम ट्रेडर्सका संचालक धु्रवराज गौतमले वताए । उनले भने काठको विकल्पका रुपमा मैले प्लाष्टीकका झ्याल ढोकाको व्यापार शुरु गरेको  थिए, प्रचार प्रसार भएको थिएन, महोत्सव उपयुक्त स्थल वनेको छ । महोत्सवमा लोक गायक राजु परियारले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकहरु छमछमती नाचेका थिए । परियारलाई शर्मिला गुरुङ, चोलेन्द्र पौडेल, तारापति सुवेदी, जीवन दाहाल, शिवहरी ढुंगाना, गोमा ढकाल, माया गुरुङ लगायतका कलाकारले साथ दिएका थिए ।

हास्यव्यङ्ग तर्फ नेपाल टेलिभिजनवाट प्रसारण हुने मेरी वास्सै र तितोसत्यका कलाकार “राजाराम मेरो नाम र वल्छी धु्रवे” ले प्रस्तुती दिदा दर्शकहरु पेट मिचिमिचि हाँसेका थिए । पप तथा आधुनिक गायन तर्फ नरहरी प्रेमी, ऋतु लामा, सि.डि विजय अधिकारी, आशिष दास र रिद व्याण्डको प्रस्तुतीमा युवादर्शकहरु झुम्मिएका थिए । त्यसैगरी रत्यौली गीत प्रतियोगितामा ग्रामिण क्षेत्रका महिलाहरुको आकर्षण रहेको थियो ।

यसैविच महोत्सवको आकर्षणको रुपमा रहेको विद्यालयस्तरिय लोकनृत्य तारापुञ्जमा ज्ञानकुञ्ज विद्याश्रम मा.वि, स्टेप वाई स्टेप, कुमुदिनी होम्सका विच भएको प्रतिस्पर्धामा कुमुदिनी होम्स दोश्रो चरणमा प्रवेश गरेको प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेले जानकारी दिए । यसै गरी महोत्सवको अर्को आकर्षणको रुपमा रहेको जोडी नृत्य गण्डकी तारामा जेम्स पुन र वीना पुन, उज्वल राणा र दिपा लामिछाने, सोनु सुनाम र सुरज परियार, उदय थापा र संझना परियारको जोडीले छनौटका लागि प्रतिस्पर्धा गरेका छन् । महोत्सवको पाँचौ दिन मंगलवार दोहोरी तर्फ राजु परियार, कृष्ण देवकोटा, शर्मिला गुरुङ, चोलेन्द्र पौडेल जीवन दाहाल, केशव देवकोटा, शिवहरी ढुंगाना, घनश्याम रिजाल, नेत्र भण्डारी, कृष्णा गुरुङ, सरस्वती लामिछानेले दोहोरी प्रस्तुती गर्ने छन् भने हास्यव्यङ्ग तर्फ मेरी वास्सै र जिरे खुर्शानीका हात्ती र चमसुरी नाम गरेका कलाकारले मनोरन्जन गराउने छन् ।

यसैगरी पप तथा आधुनिक गायन तर्फ नरहरी प्रेमी, ऋतु लामा, सि.डि विजय अधिकारी, आशिष दास र रिद व्याण्डको प्रस्तुती रहनेछ । यस्तै साँझपख मोडर्न डान्स कार्यक्रम राखिएको स्टेज व्यवस्थापन उपसमितिका संयोजक नेत्रपाणि वास्तोलाले जानकारी दिए ।

कमेन्टहरु
Loading...