ललिता निवास प्रकरणः विजयकुमार गच्छदार सहित १ सय ७५ जनालाई मुद्धा

काठमाडौं, २३ माघ/  बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ लाई मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले बिचौलीया देखि पूर्वमन्त्रीसहित १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेको छ । उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजायको माग गरेको छ ।

अख्तियारले मुद्दा दायार गर्ने सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेका छन्। अनुसन्धान पुरा भएपछि बुधबार नै अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो ।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियारले मुद्दा दायार गरेको हो । तत्कालीन मन्त्री, सचिव, संलग्न कर्मचारीसहित १७५ जनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले छानबिनको क्रममा डेढ सयभन्दा बढी व्यक्तिसँग बयान लिएको थियो ।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरिएको निश्कर्षसहितको छानबिन प्रतिवेदन एक सरकारी समितिले दिएपछि यसबारेमा थप अनुसन्धान गर्न सरकारले संवैधानिक आयोग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएको थियो।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा पञ्चायतकालमा जफत भएको भन्ने अर्थ लगाई सुवर्णशमशेरका सन्तानले २०४९ मा फिर्ता लगेका थिए ।

प्रधानमन्त्री निवास विस्तारका नाममा २०६६ चैत २९ र २०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा डिल्लीबजार मालपोत कार्यालयले सार्वजनिक, पर्ती र राजकुलोको जग्गा समेत व्यक्तिका नाममा दर्ता गर्ने निर्णय गरेको थियो।

सीआईबीको प्रतिवेदनमा बालुवाटारको २ सय ९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको उल्लेख छ । सीआइबी प्रतिवेदनमा २०४७ सालमा कृष्णप्रसाद भट्टराईको सरकारले गरेको निर्णय र पछि डा. बाबुराम भट्टराई र माधव नेपालको सरकारको निर्णयमा पनि बदमासी नदेखिएको उल्लेख गरेको छ ।

कुन ‘हाई प्रोफाइल’को बिगो कति ?
विजय गच्छदारः ९ करोड ६५ लाख ७६ हजार
चन्द्रदेव जोशी (पूर्वमन्त्री)ः ७ करोड, ८ लाख ४८ हजार
डम्बर श्रेष्ठ (पूर्वमन्त्री)ः ९ करोड, ६५ लाख ७६ हजार
छविराज पन्त (पूर्वसचिव)ः ९ करोड, ६५ लाख, ७६ हजार
दीप बन्यातः (पूर्व अख्तियार प्रमुख)ः ९ करोड ६५ लाख ७६ हजार
दिनेश अधिकारीः (पूर्वसचिव) ७ करोड, आठ लाख ४८ हजार
शोभाकान्त ढकाल (बिचौलिया)ः ३९ करोड, २७ लाख ६८ हजार
र रामकुमार सुवेदी (बिचौलिया)ः ५२ करोड, ५१ लाख ४० हजार

कमेन्टहरु
Loading...