जयसवाल लस्कर ए तोइवाका नेपाली एजेन्ट

भूमिगत सशस्त्र समूह तराई मुक्ति मोर्चा (प्रकाश समूह) का प्लाटुन ‘सैन्य कमान्डर’ अग्नि भनिने सुनिल जयसवाल लस्करे ए तोइवाको नेपालस्थित एजेन्ट रहेको भारतीय पक्षले दाबी गरेको छ । जयसवाल नेपाल प्रहरीको आग्रहमा शुक्रबार भारतको बिहारमा पक्राउ परेका थिए । नेपाल प्रहरीकै सुराकीमा भारतीय प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनी पाकिस्तानी आतंकवादी संगठन लस्करे ए तोइवाको नेपालस्थित एजेन्ट भएको आजको राजधानीमा खबर छ।

जयसवाल आफूलाई इमरान अहमदको नामले भारतमा चिनाउँदै आएका थिए । बारामा चार माओवादी कार्यकर्ता र शिक्षक हत्याको अभियोग लागेका उनलाई नारायणी अञ्चल प्रहरीको सूचनाका आधारमा नेपाल–भारत सीमा नजिकमा पर्ने बिहारको पूर्वी चम्पारणमा पर्ने आदापुर गाउँबाट नियन्त्रणमा लिइएको हो । हत्या, फिरौतीलगायत मुद्दाका उनी फरार थिए । मोर्चाको बारा, पर्सा, रौतहट इन्चार्ज रहेका जयसवाल नेपालमा ‘मोस्ट वान्टेड’ भएपछि बाराको मटिअर्वा गाविससँग सीमा जोडिएको आदापुर ससुराली घरमा एक समूह नै खडा गरेर बस्दै आएका थिए ।
उनले भारतीय नागरिकसँग बिहे गरेकै कारण भारतमा बसेर नेपाली व्यापारीसँग फिरौती असुल्ने गरेको आरोप नेपाल प्रहरीले लगाएको छ । भारतीय प्रहरीले भने लस्कर ए तोइवाको नेपालस्थित एजेन्ट भएको र उनले नेपालबाट पाकिस्तानमा आतंकवादी तालिम लिन मानिस पठाउने काम गर्दै आएको दाबी गरेको छ । नारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जयसवाललाई नेपाल प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरेको बताए । ‘बिहारमा पनि केही आपराधिक गतिविधिमा संलग्न रहेकाले नेपालमा तत्काल ल्याउन सकिएन, त्यहाँको कानुनी प्रक्रिया पूरा गरी ल्याइने छ,’ एसएसपी खनालले भने । उनलाई पक्राउ गर्न नेपाली प्रहरी पनि पुगेको थियो । उनलाई पक्राउ गर्न विगत एक महिनादेखि सुराकी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।
बिहारमा स्थानीय प्रहरीको संरक्षणमा जयसवाल बसेको थाहा पाएपछि पक्राउ गर्न पटनाबाटै स्पेसल टास्क फोर्स ९एसटीएफ० को टोली आदापुर पुगेको थियो । स्रोतका अनुसार जयसवाललाई बिहार पश्चिमी चम्पारणको बेतिया प्रहरीले हिरासतमा राखेको छ । मोतीहारी प्रहरीले असहयोग गरेपछि एसटीएफको सहयोगमा मोतीहारी जिल्लाअन्तर्गत पर्ने आदापुरमा छापा मारेको स्रोतले बतायो । २२ पुस २०६६ मा बाराको गन्जभवानीपुरस्थित मेघु जयसवालको इँटाभट्टाको भोज खाएर फर्किने क्रममा राति साढे १० बजे जयसवालको समूहले माओवादीका चार कार्यकर्तामाथि अन्धाधुन्ध गोली हानी हत्या गरेको थियो ।
रामप्रसाद, दारा र अम्बिका यादवको घटनास्थलमै र घाइते कनाही यादवको एक महिनापछि काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको थियो । त्यसैगरी, १७ वैशाख २०६६ मा बाराकै फेटा–१ निवासी प्रावि शिक्षक प्रदीप तिमिल्सिनालाई गोली प्रहार गरी हत्या गरेको आरोपमा जयसवालमाथि मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीबाट तराईमा बस्ने पहाडे मूलका नेपाली बढी पीडित भएका थिए । सशस्त्र प्रहरीका पूर्वहबल्दार जयसवाल ०६४ मा एसएलआरसहित भूमिगत समूहमा प्रवेश गरेका थिए । सो हतियार अहिले पनि उनकै साथमा रहेको प्रहरीले दाबी गरेको छ । नेपाल प्रहरीले आगामी संविधानसभाको चुनावलाई ध्यानमा राखेर तराईमा रहेका भूमिगत संगठनहरूको गतिविधिलाई निगरानीमा राखेको छ ।

– See more at: http://setopati.com/chapa-bata/2771/#sthash.A34pYary.dpuf

कमेन्टहरु
Loading...