लेकसिटी र बेलायती कलेजका विद्यार्थी बिच अन्तरक्रिया

पोखरा, १४ चैत/बेलायतको लिभरपुल जोन मोर्स विश्वविद्यालय र पोखराको गैहपाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थीले बुधबार एकआपसमा अनुभव साटासाट गरेका छन् । समाजशास्त्र विषयका विद्यार्थीबिच भएको अन्तरक्रियामा दुवै कलेजका विद्यार्थीेले समाजमा हुने गरेका सकारात्मक तथा नकारात्मक घटनाको बारेमा जानकारी आदानप्रदान गरेका थिए । समाजमा भईरहेका घटना र ती घटनाका विषयमा भएका अनुसन्धानका बारेमा पनि विद्यार्थीले छलफल गरेका थिए ।

छलफलमा जोनमोर्स विश्वविद्यालयकी प्राध्यापक सारा पार्करले नेपाली विद्यार्थीको अनुभवले बेलायती विद्यार्थीलाई नयाँ उर्जा मिलेको बताईन् । सामाजिक विषयलाई अगाडि ल्याउनका लागि विद्यार्थीको महत्पुर्ण भूमिका हुने भएकोले महिला, बालबालिका र पिछडिएका वर्गको उत्थानका लागि सधै लाग्नुपर्ने सुझाव दिईन । लामो समयसम्म नेपाल बसेर कास्कीको सिक्लेस गाउँको बारेमा अध्ययन गरेकी उनले नेपाली समाजको बदलिदो अवस्थाको बारेमा अनुभव साटेकि थिईन ।

‘नेपाली समाजको बारेमा गरेको अध्ययनले मलाई यस क्षेत्रमा लाग्न सघाएको छ’ उनले भनिन्, ‘सिक्लेस मेरो माईति हो, म बेलायती भएपनि मलाई सिक्लेसको माया धेरै लाग्छ ।’ लेकसिटी फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले नेपाली र वेलायती विद्यार्थी बिचको अनुभवले विद्यार्थीको रुची बढउने बताए । शिक्षणसंस्थाबिच भएको यस्तो अन्तरक्रियाले द्विपक्षीय सम्बन्ध विस्तारका लागि पनि सघाउने बताए । उनले आगामी दिनमा पनि कलेजले यस्तै गरि विभिन्न पक्षसँग अनुभव आदानप्रदानको मेसो मिलाउने बताए ।

लेकसिटीका सहायक क्याम्पस प्रमुख देवबहादुर क्षेत्रीले दुईवटा कलेजका विद्यार्थीबिच अनुभव आदानप्रदान गर्दा दुवैलाई फाईदा पुग्ने बताए । ‘समाजभित्र अनुसन्धानका के कस्ता विषय हुँदा रहेछन् भन्ने यस्तो छलफलबाट विद्यार्थीले फाईदा लिन सक्छन्’ उनले भने । लेकसिटी कलेजमा स्नातकतहसम्म पत्रकारिता तथा आमसंचार र समाजशास्त्र विषयमा अध्ययन हुन्छ ।

कमेन्टहरु
Loading...